काठमाडौं- नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै १ अर्ब बराबरको रकम ठगी गरेको प्रकरणमा पक्राउ परेका आठै जनाविरुद्ध सात दिनको म्याद थप गरिएको छ। थप अनुसन्धानका लागि उनीहरुविरुद्ध संगठित ठगीको कसुरमा म्याद थप गरिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा एसपी सीताराम रिजालले बताए।
यो प्रकरणमा अहिलेसम्म ८ जना पक्राउ परेका छन्। सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहाकार इन्द्रजित राई, ललितपुर महानगरपालिका–२३ घर भएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० घर भएका ४९ वर्षीय केशवप्रसाद दुलाल र पाँचथरको फिदिम नगरपालिका–७ घर भएका ४५ वर्षीय टंककुमार गुरुङ, दाङ घर भएका सन्देश शर्मा, मोरङको पथरी शनिश्चरे नगरपालिका–१० का पूर्ववडाध्यक्ष सागर राई र एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी पक्राउ परेका छन्।
यही प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ पूर्जी जारी भएका नेकपा एमालेका सचिव तथा पूर्वउपप्रधानमन्त्री समेत रहेका सांसद टोपबहादुर रायमाझी अहिलेसम्म फरार छन्।
बुधबार पक्राउ पूर्जी जारी भए पनि आइतबार बितिसक्दा समेत प्रहरीले रायमाझीको भेउ पाउन सकेको छैन। बुधबार अर्चाखाँचीको एक कार्यक्रममा विशेष अतिथि बनेर पुगेकाले पक्राउ पूर्जीबारे जानकारी पाएपछि कानुनलाई सहयोग गर्ने बताएका थिए। तर अहिलेसम्म प्रहरीको सम्पर्कमा आउनुको साटो उनी फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।