काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघका अध्यक्ष पवन गोल्यानले आयात प्रतिस्थापनका लागि आत्मनिर्भर हुन सक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
काठमाडौंमा आइतबार बैंक तथा वित्तीय संस्था परिसंघले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलन–२३ मा बोल्दै अध्यक्ष गोल्यानले मुलुक आत्मनिर्भर बन्नको लागि आयात बढाउँदै राजश्व उठाउने नीति परिवर्तन हुनुपर्ने उल्लेख गरे।
उत्पादनको दृष्टिकोणले आत्मनिर्भर बनिसकेका र आत्मनिर्भर उन्मुख क्षेत्रलाई संवर्द्धन गर्न र न्यून बिजिकीकरणलाई निरुत्साहित गर्न नेपाली उत्पादनहरुको उत्पादन मूल्यभन्दा कममा आयात नहुने गरी भन्सार समर्थन मूल्य कायम गरिनुपर्ने उनको भनाइ थियो।
सरकारले निर्यातमुलक उद्योगहरुको प्रतिस्पर्धी क्षमता अभिवृद्धिका लागि निर्यातमुलक उद्योगहरुलाई आवश्यक विद्युत ५० प्रतिशत र आयात प्रतिस्थापन गर्ने उद्योगहरुलाई २० प्रतिशत छुट दरमा विद्युत उपलब्ध गराउनुपर्ने माग गर्दै गोल्यानले बिलासिताका सामान रोक्नुभन्दा तिनीहरुमा भन्सारको दर बढाएर राजश्व बढाए आयात नियन्त्रणसमेत हुने विश्वास व्यक्त गरे।
भारतमा रहेका नेपाली नागरिकलाई आइडी दिने व्यवस्थाको पहल गरे भारतीय बैंकमा खाता खोल्न सजिलो हुने र वैधानिक तवरबाट वार्षिक ५ खर्बभन्दा बढी रेमिट्यान्स नेपालमा भित्र्याउन सकिने उनले बताए।
गोल्यानले भने,‘अधिकांश उद्योग व्यवसायीहरुले यो समस्या भोगिरहेका छन्। आयात प्रतिस्थापनका लागि आत्मनिर्भर भइसकेका र हुन सक्ने उद्योग व्यवसायलाई संरक्षण र प्रोत्साहन गर्नुपर्ने आवश्यक छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।