काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडामा देशको अर्थतन्त्र सुधारोन्मुख रहेको देखिएको बताएका छन्। नेपाल व्यवसाय शिखर सम्मेलनमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
उनले भने, ‘विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिहरूमार्फत् आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको छ। विभिन्न चुनौतीहरूका बाबजुद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेका छन्।’
विकसित एवं विकासशील मुलकहरूको अर्थतन्त्रमा समेत शिथिलता देखिन सक्ने भनी अन्तर्राष्ट्रिय मुद्राकोष तथा विश्व बैंकले विभिन्न प्रक्षेपणहरूका बाबजूद नेपालको अर्थतन्त्रमा भने सुधारका संकेत देखिएको प्रधानमन्त्रीले दाबी गरे।
उनले थपे, ‘विगत केही समयदेखि शोधानान्तर घाटामा समेत उल्लेख्य मात्रामा सुधार आइ शोधानान्तर बचत रहेको, वैदेशिक मुद्राको सञ्चितिको अवस्था पनि उल्लेख्य मात्रामा सुधार भएको, आयातको परिमाणमा पनि उल्लेख्य मात्रामा कमी भएको, विप्रेषणमा उत्साहजनक वृद्धि भएको हुनाले देशको समग्र अर्थतन्त्रको बाह्य क्षेत्रको अवस्था सुधारोन्मुख छ।’
सरकारले कृषि क्षेत्रलाई प्राथमिकता दिइरहेको प्रधानमन्त्रीको भनाइ छ। उनले त्यही नीति तथा कार्यक्रमअनुसार नयाँ उद्यमीहरूको उत्पादन, स्वउद्यमशीलताको विकास तथा विस्तार गर्दै रोजगारी वा स्वरोजगार बढाउने, कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायहरूको विकास, विस्तार गर्दै औद्योगिक एवं आर्थिक क्रान्तिको आरम्भ गर्न लागिपरेको उल्लेख गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।