काठमाडौं– विज्ञहरुले यो वर्ष खाद्यान्न संकट हुने चेतावनी दिएका छन्। हिउँदमा पनि आवश्यक वर्षा नभएको र आगामी मनसुनमा कम वर्षा हुने भएकाले खाद्य चक्रलाई सहज बनाउन सरकारले विशेष कार्यक्रम लागू गर्नुपर्ने विज्ञहरुको सुझाव छ।
नेपालमा यसवर्षको वर्षा याममा आवश्यक मात्रामा वर्षा नहुँदा सम्पूर्ण खाद्य प्रणालीमा नै समस्या देखिने र वातावरणीय समस्या उत्पन्न हुनेतर्फ सरकारलाई सचेत गराएका छन्। विज्ञहरुले गत वर्षको हिउँदमा पनि आवश्यकभन्दा कम वर्षा भएको र वर्षा याममा पनि सुक्खा खडेरी पर्ने हुँदा भोकमरी, कृषि उत्पादनमा कमी लगायत अन्य समस्याहरु सिर्जना हुनसक्ने भन्दै पूर्वतयारीका साथ रहनुपर्नेमा जोड दिएका हुन्।
जलवायु तथा विपद् विज्ञ डा धर्म उप्रेतीले यसपटकको वर्षायाममा आवश्यक वर्षा नहुने भन्दै सरकारले खाद्य सुरक्षाका लागि आवश्यक रणनीति बनाइ पूर्व तयारी थाल्नुपर्ने सुझाव दिए। उनले गहुँ, धान, मकै लगायतका बालीहरुमा कमी आउने र खाद्यान्न पहिलाको भन्दा बढी आयात गर्नुपर्ने स्थिति आउनसक्ने भन्दै समयमा नै पूर्वतयारी गर्न सरकारलाई सुझाव दिए।
उनले वर्षायाम आउँदा समुन्द्रको सतहको तापक्रममा आएको उत्तारचढावका कारण कम वर्षा हुने बताए। यसवर्षको वर्षायाममा औषतभन्दा कम वर्षा हुने प्रक्षेपण विभिन्न अध्ययनले देखाइसकेको भन्दै आकाशे खेतीहरु घट्ने जानकारी दिए।
दक्षिण एशिया क्षेत्रमा यस पटक कम वर्षा हुने आकलन गरिएकाले त्यसको असर नेपालमा पनि पर्ने उनको भनाइ छ। उप्रेतीले जलवायु परिवर्तनका कारण वर्षा कम हुँदा कृषि उत्पादकत्व घट्ने हुनाले सबैले समयमा नै खाद्यान्नको जोहो गर्न आग्रह गरे।
यता सरकारले आगामी मनसुन सिजनमा कम वर्षा हुने मौसमविद्हरुको आकलन रहेको भन्दै खाद्यान्न जोहो गर्नुपर्नेमा सरकारसचेत रहेको बताएको छ। बिहीवार जल तथा मौसम विज्ञान विभागले आगामी मनसुन सिजनको अवस्थाबारे जानकारी दिन आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा गोवन्दप्रसाद शर्माले मौसमविद्हरुको अनुमानलाई मध्यनजर गरेर सरकारले मौसमी अन्नबालीमा लगानी बढाउनुपर्ने आवश्यक्ता औंल्याएको बताए।
उनले विगतका वर्षहरुको तुलनामा यस वर्ष आकाशे पानी मनसुन सिजनमा कम हुने आकलन रहेको भन्दै त्यही अनुसार सरकारले आवश्यक रणनीति बनाइरहेको उल्लेख गरे। उनले मनसुन सिजनमा विशेष गरी धान रोप्ने बेलामा मध्यनजर गरी सिँचाइमा विशेष जोड दिनुपर्ने देखिएको बताए। सचिव शर्माले सरकारले सबै पालिकाहरुमा मौसमबारे पूर्वसूचना प्रणाली बिस्तार गरी नागरिकलाई सुसूचित बनाउनुपर्ने उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।