भरतपुर– बिगत ८ वर्षको अवधिमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा गरी २२० गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि हालसम्ममा उक्त संख्यामा गैँडा मरेका चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले जानकारी दिएको छ।
निकुञ्जका अनुसार ६४ गैँडा बुढो भएर र भिरबाट लडेर मरेका छन् भने १९ गैँडा दलदलमा फसेर र बाढीले बगाएर मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आपसमा जुधेर ८ वर्षको समयमा ५१ गैँडा मरेका छन्।
यस्तै, बाघको आक्रमणबाट २०, चोरी शिकारीबाट ९, करेन्ट लागेर ८, बिरामी तथा रोगी भएर १२, खाडलमा परी ३, विष सेवनले ५ तथा कारण नखुलेका २९ गैँडा रहेको उनले जानकारी दिए।
तिवारीका अनुसार विगत ८ वर्षमा १०० भाले र ७६ पोथी गैँडा मरेका छन् भने लिङ्ग पहिचान नभएका ४४ गैँडा मरेका छन्। आर्थिक वर्ष २०७२/७३ देखि यता निकुञ्जमा सबैभन्दा बढी गैँडा आव २०७५/७६ मा मरेको कार्यालयको तथ्याङ्कले देखाएको छ। सो आवमा ४३ गैँडा मरेका थिए।
सबैभन्दा कम आव २०७२/७३ मा १४ गैँडा मरेको तिवारीले बताए। तिवारीका अनुसार आव २०७३/७४ मा २५, आव २०७४/७५ मा २६, आव २०७६/७७ मा २६, आव २०७७/७८ मा ३३ र आव २०७८/७९ मा ३७ गैँडा मरेका छन्। चालु आवको हालसम्म १६ गैँडा मृतावस्थामा भेटिएको उनले जानकारी दिए।
निकुञ्जको तथ्याङ्कअनुसार आव २०६५/६६ देखि आव २०७९/८० सम्म ३२३ गैँडा मरेका छन्। निकुञ्जमा गैँडाको सङ्ख्या बढ्दै जाँदा आपसमा जुधेर र बूढो भएर मर्नेको सङ्ख्या धेरै रहेको तिवारीले बताए।
गैँडाको चरनका लागि निकुञ्जले घाँसेमैदान व्यवस्थापन र पानीको संरक्षणमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।