काठमाडौं– राष्ट्रिय तथ्यांक कार्यालयले चालू आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको छ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वार्षिक राष्ट्रिय लेखा तथ्याङ्क सार्वजनिक गर्दै चालू आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको हो।
सरकारले चालू आर्थिक वर्षको बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य राखे पनि ५.८४ प्रतिशतले लक्ष्य पूरा नभई २.१६ प्रतिशतमा नै सीमित हुने तथ्यांक कार्यालयले अनुमान गरेको छ।
गत आर्थिक वर्ष २०७८/७९मा ५.२६ हुने संशोधित प्रक्षेपण रहेको थियो। उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ। तथ्याङ्क कार्यालयका निर्देशक ईश्वरीप्रसाद भण्डारीले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा १.८६ प्रतिशत र आधारभुत मूल्यमा २.१६ प्रतिशत हुने प्रारभिक अनुमान रहेको बताए।
उनले नेपालको अर्थतन्त्रको आकार चालू आर्थिक वर्षमा ५३ खर्ब ८१ अर्ब पुग्ने अनुमान रहेको बताए। उनले चालू आर्थिक वर्षको आर्थिक वृद्धिको अनुमान एशियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमान भन्दा कम रहेको पनि जानकारी दिए।
उनले तथ्याङ्क बनाउँदा चालू आर्थिक वर्षको तीन महिना मुलुकको अर्थतन्त्र सामान्य रुपमा चल्ने र अर्थतन्त्रमा कुनै अफ्ठ्यारो नबनाउने किसिमले तयार बनाएको बताए। यस्तै जीडिपीको उपभोक्ता मूल्यमा १.९ प्रतिशत रहने अनुमान रहेको छ।
उनले अघिल्लो आर्थिक वर्षमा ५.८ प्रतिशतले जिडिपी वृद्धि हुने अनमान गरिएको भए पनि यस वर्ष ५.६ प्रतिशतको प्रक्षेपण गरिएको बताए। कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादनको वृद्धिदर आधारभूत मूल्यमा २.७ प्रतिशत र गैरकृषि क्षेत्रको १.९ प्रतिशत हुने अनुमान गरेको छ। अन्य वर्षहरुको भन्दा यो वर्ष गैरकृषि भन्दा कृषि क्षेत्रको वृद्धिदर बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।