काठमाडौं- राष्ट्रिय तथ्यांक कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने अनुमान गरेको छ।
सरकारले चालु आर्थिक वर्षका बजेटमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो। तर मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो।
उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ। नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ। आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो।
यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए।
कोभिड–१९ का कारण आर्थिक वर्ष २०७६/७७ मा नेपालको आर्थिक वृद्धिदर २.४ प्रतिशतले ऋणात्मक भएको थियो। आर्थिक वर्ष २०७७/७८ मा ४.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा ५.३ प्रतिशत आर्थिक वृद्धिदर भएको केन्द्रीय तथ्यांक कार्यालयको तथ्यांक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।