काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले आगामी आर्थिक वर्षमा भौतिक मन्त्रालयको बजेट सबैभन्दा धेरै कटौती भएको बताएका छन्। आइतबार काठमाडौंमा पेशागत महासंघ नेपालले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आगामी आर्थिक वर्षमा मन्त्रालयको बजेट ५४ अर्ब कटौती भएको जानकारी दिए। उनले चालू आर्थिक वर्षमा १६३ अर्ब बजेट रहेको भए पनि आगामी आर्थिक वर्षका लागि ११३ अर्ब बजेटको सिलिङ दिइएको बताए।
उनले आगामी आर्थिक वर्षको बजेट गरिबको लागि खानेकुरा जस्तो बनेको टिप्पणी गरे। राजश्व संकलन कम भइरहेको र अर्थतन्त्रका सूचकांकहरु पनि खराब रहेको उनको भनाइ थियो।
उनले भने, ‘हामी बजेट निर्माणको चटारोमा छौं। बजेटको कमीका साथै कटौती पनि छ। कटौती भएको कन्फर्टेबल बजेट सिलिङ हुन्थ्यो भने यति धेरै प्रेसर हुँदैन थियो होला। यता ताने उता मिल्दैन, उता ताने यता मिल्दैन। गरिबी जस्तो भएको छ। बिहान खाँदा साँझ नपुग्ने साँझ खाँदा बिहान नपुग्ने जस्तो भएको छ। ओभरल आर्थिक संकट त छँदैछ, राजश्व संकलन कमजोर छ। अर्थतन्त्रमा खराब सूचकांकहरु छन्। त्यसको मारमा बजेट परेको छ। बजेट मारमा पर्नु भनेको हाम्रा प्रोजेक्टहरु, योजना, कार्यक्रम मारमा पर्नु हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।