काठमाडौं- खाना पकाउने एलपी ग्यासको आयात चालु आर्थिक वर्षको ९ महिनमा झन्डै ५० करोड रुपैयाँले घटेको छ। भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको ९ महिनामा (साउनदेखि चैत मसान्तासम्म) ग्यासको आयात ४९ करोड रूपैयाँ बढीले कमी भएको छ।
चालु आर्थिक वर्षको ९ महिनामा ४४ अर्ब ८४ करोड ८६ लाख ५१ हजार रूपैयाँ बराबरको ३८७६३०.८१ मेट्रिक टन ग्यास आयात भएको विभागको तथ्यांकमा उल्लेख छ। गत वर्ष सोही अवधिमा ४५ अर्ब ३४ करोड २५ लाख १८ हजार रूपैयाँ बराबरको ३९५७२८ मेट्रिक टन ग्यास आयात भएको थियो। गत वर्षको तुलनामा यस वर्ष ४९ करोड ३८ लाख ६७ हजार रूपैयाँले घटेको छ।
बजारमा विद्युतको प्रयोग बढ्दै गएपछि ग्यासको खपतमा कमी भएसँगै आयात समेत खस्किन थालेको छ। ग्यासभन्दा बिजुली सस्तो पर्ने हुँदा पछिल्लो समय विद्युतीय चुल्हो (इन्डक्सन)को प्रयोग बढ्दै गएको पाइन्छ। तसर्थ ग्यासको खपतमा कमी आउनुको प्रमुख कारण इन्डक्सन चुल्होको प्रयोग बढ्नु रहेको व्यवसायीहरुको भनाइ छ।
यस्तै नेपाल आयल निगमका प्रवक्ता मनोजकुमार ठाकुरले विद्युत आपूर्ति नियमित हुनु र आर्थिक मन्दीका कारण ग्यासको आयातमा गिरावट आएको जानकारी दिए।
उनका अनुसार विगतमा खाना पकाउने ग्यासको खपत वार्षिक रुपमा १० देखि १५ प्रतिशतले हुने गरेकामा यो वर्ष सुरुदेखि नै घट्दै गएको छ। ग्यास ३० प्रतिशत घरायसी प्रयोजन र ७० प्रतिशत औद्योगिक प्रयोजनका लागि खपत हुने गर्छ। अहिले काठमाडौँमा रहेका ठूला रेस्टुरेन्टमा कारोबार घटेर ५० प्रतिशत पुगेको छ। रेस्टुरेन्टको खपत कम भएकाले ग्यासमा असर देखिएको हुनसक्ने बताए। त्यसमा उपभोक्ता इन्डक्सनतिर आकर्षित हुनथालेकाले पनि ग्यासको खपत घट्न थालेको बताए।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष कुशकुमार मल्लीले मुलकमा देखा परेको आर्थिक संकटका कारण होटल, रेस्टुरेन्ट, उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन नहुँदा ग्यासको खपतमा कमी आएको जानकारी दिए। आर्थिक गतिविधि कम हुँदा औद्योगिक प्रयोग कम भएकाले खाना पकाउने ग्यासको माग र खपत घटेको र जाडो समयको तुलनामा गर्मीमा ग्यासको खपत समेत कम हुने बताए।
पछिल्लो समय आयात घट्दै
आर्थिक वर्ष २०७५/७६ को वैशाखमा ४२९६०९ मेट्रिक टन ग्यास आयात भएको थियो। यस्तै आर्थिक वर्ष २०७६/७७ को वैशाखमा ४४९०६३ मेट्रिक टन आयात भएको थियो। आर्थिक वर्ष २०७७/७८ को वैशाखमा ४७७७५२ मेट्रिक टन ग्यास आयात भएको थियो। आर्थिक वर्ष २०७८/७९ वैशाखमा ५३६०२८ मेट्रिक टन ग्यास आयात भएको थियो। चालु आर्थिक वर्षको वैशाख महिनासम्ममा ३८७६३०.८१ मेट्रिक टन ग्यास आयात ग्याँस आयात भएको नेपाल आयल निगमको तथ्यांकमा उल्लेख छ।
४४ प्रतिशत घरधुरीले प्रयोग गर्छन्
राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको २०७८ सालको जनगणनाको तथ्यांकअनुसार मुलुकभर खाना पकाउन ४४.३ प्रतिशतले एलपी ग्यास प्रयोग गर्ने गरेको पाइन्छ। सहरीकरण बढेसँगै गाउँगाउँमा ग्यासको प्रयोग बढ्दै गएको छ। यस्तै मुलुकभर ६६ लाख ६० हजार ८४१ परिवारमध्ये ५१ प्रतिशत परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गरेका छन्। कुल दुई करोड ९१ लाख ६४ हजार ५७८ जनसंख्यामध्ये ६६ लाख ६० हजार ८४१ घरपरिवारले ४४.३ प्रतिशत एलपी ग्यास, ०.५ प्रतिशत बिजुली, दाउरा ५१ प्रतिशत, गुइँठा/गोहरा २.९ प्रतिशत, बायोग्यास १.२ प्रतिशत, मट्टितेल प्रयोगकर्ता ०.०५ प्रतिशत, ९२.२ घरपरिवारले बत्ती बाल्न विद्युत प्रयोग गरेको देखाएको छ। अन्य इन्धन ०.१ प्रतिशत प्रयोग गर्ने गरेको तथ्यांकमा उल्लेख छ।
२०६८ को जनगणनाअनुसार २१ प्रतिशत परिवारले मात्रै एलपी ग्यास प्रयोग गर्ने गरेका थिए। ६४ प्रतिशत घरपरिवारले खाना पकाउन दाउरा प्रयोग गर्थे। १०.३८ प्रतिशत घरपरिवारले गुइँठाको प्रयोग गर्ने गरेको देखाएको थियो। खाना पकाउन बिजुली प्रयोग गर्ने परिवार ०.०८ प्रतिशत मात्रै थिए। यस्तै ६७.२ प्रतिशत घरपरिवारले मात्रै विद्युत प्रयोग गर्ने गरेको देखिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।