काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले अख्तियारको क्षेत्राधिकार विस्तार गर्ने गरी प्रतिनिधि सभामा विचाराधीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ लाई संशोधन गर्न बनेको विधेयक संविधान अनुकुल बनाउन सभामुख देवराज घिमिरेलाई ज्ञापनपत्र बुझाएको छ।
चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल नेतृत्वको टोलीले अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न सक्ने व्यवस्थाप्रति आपत्ति जनाएको हो। ‘मुलुकको अर्थतन्त्र हाल जोखिममा रहेका बेला निजी क्षेत्र थप संकुचित हुने र निजी क्षेत्रलाई प्रतिकुल असर पर्ने कानुनी व्यवस्था नगर्न अनुरोध गर्दछौं,’ भेटमा मल्लले भने।
चेम्बरले निजी क्षेत्रलाई नियमन गर्ने छुट्टै नियामक निकायहरु भएकाले अख्तियारको क्षेत्राधिकार भित्र पार्दा व्यवसाय नै ठप्प पर्ने जनाएको छ।
सभामुख घिमिरेले निजी क्षेत्रमैत्री कानुन निर्माण गर्न आफूले प्रयत्न गर्ने बताए। ‘ऐन बनाउन मुलतः सरकार र राजनीतिक दलहरुकै भूमिका रहन्छ,’ उनले भने, ‘तर अभिभावकीय भूमिका निर्वाह गर्ने तपाईंहरुलाई विश्वास दिलाउँछु।’
सभामुखले विषयगत समितिहरु गठन प्रक्रियामा रहेकाले समितिमार्फत आफ्ना सुझावहरु दिन कमर्स पदाधिकारीको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।