काठमाडौं- नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निजी क्षेत्रको पनि अनुसन्धान गर्न दिने गरी कानुन संशोधन गर्न लागिएकोप्रति विरोध गरेको छ।
अख्तियारले निजी क्षेत्रमा पनि अनुसन्धान गर्नसक्ने व्यवस्था समावेश गरी राष्ट्रिय सभाबाट प्रतिनिधि सभामा पठाएको विधेयकमा असहमति जनाउँदै चेम्बरका अध्यक्ष राजेद्र मल्लले विज्ञप्तिमार्फत् आपत्ति जनाएका छन्।
‘निजी क्षेत्रमासमेत अनुसन्धान गर्नसक्ने प्रस्तावित व्यवस्थाले निजी क्षेत्रको कार्यक्षमतामा ह्रासका साथै बैदेशिक लगानीसमेत प्रभावित हुने देखिन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘विधेयकमा उल्लेखित व्यवस्थाले व्यावसायिक निर्णय लिन कठिन हुने अवस्था सिर्जना हुन्छ।’
चेम्बरले निजी क्षेत्रमा नियमन गर्ने निकायहरु हुँदा–हुँदै अख्तियारको क्षेत्राधिकारभित्र पार्न खोज्दा बेथिति बढ्ने र उद्योगी व्यवसायीहरु हतोत्साही हुने उल्लेख गरेको छ। सो सम्बन्धी विधेयक प्रतिनिधि सभामा विचाराधीन छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।