काठमाडौं– काठमाडौं महानगरपालिका क्षेत्रभित्र सीसीटिभी (क्लोज सक्र्युट टेलिभिजन) जडान र सञ्चालन गर्न महानगरपालिकाले नेपाल प्रहरीलाई ६ करोड रुपैयाँ उपलब्ध गराउने भएको छ।
सहरको शान्ति सुरक्षा, अपराध नियन्त्रण, दुर्घटना, फोहरमैला व्यवस्थापन, फुटपाथ अतिक्रमण, प्रदुषण, सार्वजनिक सम्पत्तिको उपयोगजस्ता सहरी सुशासन र महानगरपालिकाको कार्य सम्पादनलाई सूचना प्रविधि प्रणालीमा आबद्ध गराउन महानगरपालिकाले नेपाल प्रहरीलाई रकम उपलब्ध गराउने भएको हो।
यसका लागि आज प्रमुख बालेन्द्र शाह (बालेन)को रोहबरमा प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ।
उपलब्ध गराइने रकममध्ये ५० प्रतिशत अर्थात् ३ करोड रुपैयाँ आउँदो १५ दिन भित्र र बाँकी रकम खरिद सम्झौताबमोजिम कार्य सम्पादन भएपछि भुक्तानी दिइनेछ।
सम्झौतापछि महानगरका प्रमुख शाहले सहरी व्यवस्थापनसँग सम्बन्धित अवस्था हेर्न महानगरभित्रै पनि सीसीटिभी निगरानी कक्ष स्थापना गर्नु पर्ने बताए। ‘सहरलाई व्यवस्थापन गर्ने र सार्वजनिक सरोकार जस्ता विषयमा नेपाल प्रहरीसँग सहकार्य जारी छ। यो नियमित हुनेछ,’ प्रमुख शाहले भने।
‘नेपाल प्रहरीसँग सीसीटिभी क्यामरा सञ्चालनसम्बन्धी प्राविधिक जनशक्ति छन्। यसलाई निगरानी गर्ने संयन्त्रसँग अनुभव छ। यसकारण हामीले नेपाल प्रहरीलाई सीसीटिभी क्यामरासँग सम्बन्धित कामका लागि सहयोग गरेका हौं’ महानगरका प्रमुख प्रशासकीय अधिकारीको भनाइ छ।
सीसीटिभीका सन्दर्भमा कुरा गर्दै प्रविधिमा आधारित कृतिम वौद्धिकता जोडेर सीसीटिभीबाट प्राप्त हुने दृश्यलाई वर्गीकरण गर्न थालिएको उल्लेख गरे। ‘हामी जाम भएको सडकबाट मोटरसाइकल मात्र छुट्याएर हेर्न सक्छौं। मोटरसाइकलमा पनि कुनै रङ् विशेष मात्र पनि हेर्न सक्छौं। कार, सार्वजनिक यातायातका साधनहरु हरेकलाई छुट्याएर हेर्न सक्छौं। यसले विवादमा पक्षलाई चित्त बुझाउन, चोरी, लुटपाट तथा अन्य असामाजिक क्रियाकलापमाथि निगरानी गर्न सहज भएको छ,’ उनले भने।
सम्झौतामा उल्लेख गरिएको कामहरु गृह मन्त्रालयबाट जारी भएको सीसीटिभी जडान तथा सञ्चालन सम्बन्धी कार्यविधिलाई आधार कार्यान्वयन गरिनेछ। सीसीटिभी रिङ नेटवर्क टोपोलोजी, भिडियो व्यवस्थापन प्रणाली, मर्मत सम्भार तथा निगरानीका लागि छुट्टै सवारी सम्बन्धी योजना तयार पारिनेछ। यसका लागि ६ जना पदाधिकारी रहने समिति हुनेछ। यसमा
महानगरकातर्फबाट सूचना प्रविधि विभागका प्रमुख, नगर प्रहरी बलका प्रमुख, सूचना प्रविधि शाखा प्रमुख रहेछन्। यस्तै नेपाल प्रहरीकातर्फबाट प्रहरी प्रधान कार्यालय सञ्चार निर्देशनालयका प्रतिनिधि १ जना, काठमाडौँ उपत्यका प्रहरी कार्यालय सञ्चार शाखा प्रमुख १ जना र प्रहरी कार्यालयमा कार्यरत प्राविधिक अधिकृत प्रतिनिधि १ जना रहनेछन्।
सम्झौताबमोजिम राखिने सीसीटिभी क्यामराहरु पीटीजेड (प्यान, टिल्ट, जुम) विशेषताका हुनेछन्। क्यामरा जडान भएका ठाउँहरुमा रात्रिकालीन दृश्य हेर्नका लागि सडक बत्तिको व्यवस्था गरिनेछ। निगरानी कक्षका लागि छुट्टै वैकल्पिक पावर सिस्टमको व्यवस्था गरिनेछ भने महानगरको भौगोलिक क्षेत्रभित्र दुवै पक्षको नीति र आवश्यकताका आधार सीसीटिभी राख्ने स्थान एकिन गरिनेछ।
महानगरका वडाहरुले जडान गर्ने सीसीटिभी क्यामरा जडानका लागि नेपाल प्रहरीले प्राविधिक सहयोग गर्ने, प्रणालीमा आबद्ध गर्ने, उपकरण तथा संयन्त्र हस्तान्तरण गरि लिनदिन सक्नेछ। सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार यसअघि २०७५ फागुन १५ गते सम्झौता गरेर महानगरले प्रहरीलाई ३ करोड रुपैयाँ उपलब्ध गराएको थियो।
त्यस सम्झौताबमोजिम जडान गरिएका १६५ वटा सीसीटिभी क्यामरामध्ये अहिले १५८ वटा चालू अवस्थामा छन्। राखिएकामध्ये सडक विस्तारका क्रममा ७ वटा प्रयोगविहीन भए। उपत्यका प्रहरी कार्यालय रानीपोखरीकाअनुसार उपत्यकामा भएका ३ हजार २३१ सीसीटिभी क्यामरामध्ये १ हजार ५१ वटाको दृश्य कन्ट्रोल रुमबाट निगरानी हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।