काठमाडौं– भक्तपुर गठ्ठाघरस्थित कृषि विकास तथा ऋण सहकारी संस्थाका प्रबन्ध निर्देशक समिर खत्रीलाई उक्त सहकारीका बचतकर्ताले मोसो दलेर जुत्ताको माला लगाइदिएका छन्। प्रहरीले खत्रीलाई अहिले आफ्नो कार्यालयमा लिएर राखेको छ।
१२ वर्षदेखि सञ्चालनमा रहेको उक्त सहकारी मध्यपुर ठिमी नगरपालिका–३ गठ्ठाघरस्थित रामबहादुर मानन्धरको साढे तीन तले घरको दोस्रो तलामा रहेको छ।
उनलाई मोसो दलेको भन्ने खबर हुनसाथ घटनास्थल पुगेर खत्रीको उद्धार गरिएको प्रहरीले जनाएको छ। घटना मंगलबार दिउँसो करिब १ बजेतिरको हो।
मोसो दल्नेमा भक्तपुर मध्यपुर ठिमी नगरपालिका–७ धुन्चेपाखा बस्ने ४४ वर्षीय मुरारी नेपाल, ओखलढुंगा हर्कपुर घर भई हाल भक्तपुर गठ्ठाघर बस्ने ३६ वर्षीया प्रेमकुमारी तामाङ, झापा कोहोरा घर भई हाल गठ्ठाघर बस्ने ३९ वर्षीय कृष्ण संग्रौला, मध्यपुरठिमी नगरपालिका–९ बोडे बस्ने ६३ वर्षीय गोरखबहादुर गिरी र ओखलढुङ्गा लिखु–४ घर भई हाल कौशलटार बस्ने ३४ वर्षीया पवित्रा तामाङ रहेका छन्।
उनीहरू सबैलाई प्रहरीले पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।