तस्बिर: रासस। काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ऊर्जा क्षेत्रमा थप लगानी विस्तार गर्न आवश्यक रहेको बताएका छन्।
मंगलबारदेखि सुरु भएको आठौं ‘पावर समिट–२०२३’लाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले सरकारले नीतिगत र व्यावहारिक रुपमा नै ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधार मानेर अघि बढेकाले ऊर्जा क्षेत्रमा थप लगानी बढाउन आवश्यक रहेको बताए।
प्रधानमन्त्री प्रचण्डले देशलाई आर्थिक रुपमा बलियो बनाएर अर्थतन्त्रमा गुणात्मक परिवर्तन गर्न पनि हरित ऊर्जाको आवश्यक्ता महत्त्वपूर्ण भएको उल्लेख गरे।
उनले धेरै नेपालीहरूले अझै पनि हरित ऊर्जामा पहुँच पुग्न नसकेको उल्लेख गर्दै देशका सबै जनतालाई बिजुली उपलब्ध गराउनका लागि ग्रिड विस्तार गर्न र अफ ग्रिड प्रविधिमा लगानी विस्तारमा जोड दिइरहेको बताए।
प्रधानमन्त्री प्रचण्डले प्रसारण र वितरण लाइनहरू विस्तार गर्न र स्थिर विद्युत आपूर्ति सुनिश्चित गर्न सरकारले पहल गरिरहेको उल्लेख गरे। उनले स्वदेशमा उत्पादन हुने बिजुली आन्तरिक रूपमा उपयोग गर्न पर्याप्त पूर्वाधार निर्माण नगर्दासम्म यस क्षेत्रमा भइरहेको ठूलो लगानी जोगाउन पनि निर्यात गर्नुपर्ने आवश्यक्ता देखिएको बताए।
प्रधानमन्त्री प्रचण्डले धेरै विद्युत खपत गर्नसक्ने क्षेत्रको प्रवर्द्धन, प्रतिव्यक्ति खपत बढाउन सक्ने वातावरण तय गर्दै व्यापार घाटालाई कम गर्न बिजुलीको उपभोग बढाउन जरुरी रहेको उल्लेख गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।