काठमाडौं– नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले बजारमा ४० देखि ८० प्रतिशत मागमा संकुचन आएको बताएका छन्।
सोमबार काठमाडौंमा सातौं चितवन अन्तर्राष्ट्रिय प्रदर्शनीबारे जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
उनले उद्योग परिसंघले गरेको विभिन्न अध्ययन प्रतिवेदन अनुसार मुलुकभर उत्पादन वस्तुको मागमा ४० देखि ८० प्रतिशत संकुचन आएको देखाएको बताए। उनले पछिल्लो समय उद्योगी व्यवसायीहरू कठिन अवस्थामा गुज्रिएको बताए।
अग्रवालले व्यवसायीहरूलाई बैंकको उच्च ब्याजदरको कारण समस्यामा रहेको बताए। अध्यक्ष अग्रवालले पछिल्लो समय कागजी रुपमा बैंकहरूमा तरलताको अभाव नदेखिए पनि उद्योगी व्यवसायीहरूले सहजरुपमा कर्जा पाउन नसकेको दाबी गरे।
उनले व्यवसायीहरूले बजारबाट उधारो उठाउन नसक्दा बैंकको किस्ता तिर्न समेत नसकिरहेको उल्लेख गरे। अध्यक्ष अग्रवालले वर्तमान आर्थिक समस्याको समाधान गरी सरकारले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए।
उनले सरकारले उद्योगी व्यवसायीहरूको मनोबल उच्च बनाउन केही कदमहरू चाल्न आवश्यक रहेको पनि बताए। अग्रवालले सरकारले समयमा नै पुँजीगत खर्च गर्न नसक्दा पनि धेरै समस्या देखिएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।