काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि फेरि मतदान हुने भएको छ।
तीन आकांक्षी रहेको पहिलो चरणबाट कसैले ५० प्रतिशत कटाउन नसकेपछि दोस्रो चरणमा गएको हो।
महासंघमा जिल्ला नगरतर्फ, वस्तुगत र एसोसिएट गरि तीन क्लस्टरमा मतदान हुने गर्छ। समग्र मतमा सर्वाधिक ६६४ मत पाउने रामचन्द्र संघई कलस्टर मतभारमा भने पछि परेका छन्। उनी समग्रमा ३०.१९ प्रतिशत ल्याउँदै बाहिरिएका छन्।
समग्रमा ६६१ मत ल्याउने अञ्जन श्रेष्ठले ३७.९९ प्रतिशत मतसहित पहिलो भएका छन् भने समग्रमा ५२३ मत पाएका उमेशलाल श्रेष्ठ ३१.४९ प्रतिशत मतसहित दोस्रो भएका हुन्।
संघईले जम्मा ३० प्रतिशत मतभार हुने एसोसिएटमा धेरै मत ल्याएका थिए। जहाँ संघईले ६ सय १३, अञ्जन श्रेष्ठले ५ सय ७३ र उमेशलाल श्रेष्ठले ४ सय २६ मत पाएका हुन्।
जिल्ला नगरको मतभार ५० प्रतिशत छ। जहाँ अञ्जनले ४७ मत पाउँदै २०.६१ प्रतिशत बनाए भने संघई ३९ मतसहित १७.१० र उमेशलालले २८ मतसहित १२.२८ प्रतिशत बनाए।
दुवै क्षेत्रमा तेस्रो नम्बरमा रहेका उमेशलाले २० प्रतिशत मतभार रहेको वस्तुगतमा छलाङ मारेका हुन्। जहाँ उनले ६९ मत अर्थात् ११.३१ प्रतिशत पाए। अञ्जनले ४१ अर्थात् ६.७२ प्रतिशत र संघईले १२ मत अर्थात् १.९६ प्रतिशत मात्र पाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।