काठमाडौं– उद्योग वाणिज्य महासंघको ५७ औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहितको नयाँ कार्यसमिति चयनका लागि प्रज्ञा भवनमा मतदान भइरहेको छ। बुधबार बिहान १० बजेबाट सुरु भएको मतदानमा साँझ ५ बजेसम्ममा जिल्लातर्फ र वस्तुगततर्फको मतदान सकिएको छ भने एसोसियटतर्फ मतदान कार्य जारी रहेको छ।
एसोसियट तर्फको मतदान आखिरी चरणमा रहेको निर्वाचन अधिकृतको कार्यलयले जनाएको छ। महासंघको निर्वाचनमा अहिलेसम्म १ हजार ३७२ मत खसिसकेको छ। जसमध्ये, एसोसिएटतर्फ १ हजार १३२ मत खसेको छ भने जिल्ला–नगरतर्फ ११७ र वस्तुगततर्फ १२३ मत खसेको अधिकृतको कार्यलयले बताएको छ।
जिल्ला–नगरतर्फ र वस्तुगततर्फ खसेको मत शतप्रतिशत रहेको जनाइएको छ। यो निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र एरामचन्द्र संघाई समूह बनाएर प्रतिस्पर्धामा उत्रेका छन्। यसबाहेक ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गरिहका छन्।
वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुने महासंघको विधान अनुसार कम्तिमा ५० प्रतिशत कटाउनैपर्ने बाध्यता छ। आजको निर्वाचनमा कसैले ५० प्रतिशत नकटाए धेरै ल्याउने २ उम्मेदवारबीच फेरि बिहीबार प्रतिस्पर्धा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।