काठमाडौं– उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष सहितको पदका लागि बुधबार बिहानबाट मतदान सुरु भएको छ। बिहान ८ बजेबाट सुरु हुने भनिएको मतदान ढिला गरी बिहान १० बजेबाट सुरु भएको हो। मतदान अपराह्न ४ बजेसम्म चल्ने बताइएको छ।
मंगलबार होटल याक एण्ड यतिमा उद्घाटन भएको महासंघको ५७औं साधारण सभा वरिष्ठ उपाध्यक्ष सहितको नयाँ नेतृत्व चयन गर्दै सकिने छ। वरिष्ठ उपाध्यक्षमा ३ जना प्रत्यासी समूह बनाएर चुनावी मैदानमा उत्रिएका छन्। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अन्जन श्रेष्ठ र रामचन्द्र संघई समूहको उम्मेदवारी रहेको छ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन कूल सदर मतमध्ये ५० प्रतिशत कटाउनु पर्ने भएकाले निर्वाचन दोस्रो चरणमा जान सक्ने देखिन्छ। दोस्रो चरणमा निर्वाचन जाने अवस्था आए पुन: बिहिबार मतदान हुने तग गरिएको छ।
यदि दोस्रो चरणमा निर्वाचन गए पहिलो चरणबाट धेरै मत प्राप्त गर्ने २ उम्मेदवारबीच पुनःप्रतिस्पर्धा हुनेछ। तर उम्मेदवारहरुको पक्षमा खुलेका उद्योगी र समर्थन मतमा परिवर्तन भएमा भने वरिष्ठ उपाध्यक्षका लागि दोस्रो चरणको निर्वाचन आवश्यक नरहने देखिन्छ।
कसलाई कसको समर्थन?
समर्थन र प्रचारलाई हेर्ने हो भने वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठ बलिया देखिन्छन्। उनलाई वर्तमान वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसहित करिब सबै प्रदेश अध्यक्षहरुको समर्थन छ। त्यस्तै, यही समूहबाट एसोसियट तर्फका उपाध्यक्ष उम्मेदवार रहेका भरतराज आचार्यलाई अन्जन श्रेष्ठ समूहको पनि समर्थन रहेकोले आचार्य आफूप्रति थप उदार हुने उमेशलाल समूहको विश्वास छ। अन्जन श्रेष्ठ समूहले समर्थन गर्नुपूर्व आचार्य उमेशलाल समूहबाट आधिकारिक उम्मेदवार भइसकेका थिए।
यस्तै, उमेशलाललाई औषधि उत्पादक संघको पनि समर्थन छ। त्यस्तै, पूर्वअध्यक्षहरु चण्डिप्रसाद ढकाल, भवानी राणालगायत पूर्व पदाधिकारीको समर्थन आफूलाई रहेको यो समूहको दाबी छ।
यस्तै, वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याक्षी अन्जन श्रेष्ठ आफू महासंघको वर्तमान समितिमा उपाध्यक्ष रहेको र भर्खरै देशभर घुमेकाले उद्योगी तथा व्यापारीले आफूलाई मत दिने दाबी गर्छन्। उनलाई नेपाल अटो मोबिइल्स व्यवसायी संघ (नाडा) को समर्थन रहेको छ। त्यस्तै, आफूलाई केही पूर्व अध्यक्षहरुको पनि समर्थन रहेको उनको दाबी छ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षका अर्को प्रत्याक्षी रामचन्द्र सघांई आफू पहिलो चरणबाटै ५० प्रतिशत मत कटाउने बताउँछन्। एसोसियट तर्फको ठूलो समूह आफ्नो पक्षमा रहेको भन्दै उनी आफ्नो जित सुनिश्चित रहेको दाबी गर्छन्। महासंघमा सबैभन्दा धेरै मतदाता एसोसियटतर्फ रहेका हुन्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।