काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्षका उम्मेदवार उमेशलाल श्रेष्ठले सबै उद्योगी व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनुपर्ने आवश्यकता टड्कारो रहेको बताएका छन्।
अहिले साना, घरेलु तथा मझौला उद्योगी व्यववसायीहरूको समस्या एकदमै जटिल बन्दै गएको उनले बताए। मंगलबार महासंघको ५६औं साधारण सभामा बोल्दै उनले सबैखाले उद्योगी व्यवसायीले अपनत्व गर्ने महासंघ बनाउनका लागि आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको बताए।
उनले वस्तुगत र जिल्ला नगरका उद्यमी व्यवसायीको अवस्था पनि एकदमै दयनीय बनेको छ तर, महासंघ नेतृत्वले नदेखेको र नसुनेको टिप्पणी गरे।
‘मेरो विरासत कुनै ठूलो व्यावसायिक घरना होइन, तर मैले सानोबाट प्रवेश गरेर अहिले राम्रै अवस्थामा आफ्नो व्यवसाय संचालन गरिरहेको छु भने महासंघमा पनि मेरो लामो अनुभव छ,’ उनले भने, ‘महासंघमा उद्योगी व्यवसायीहरूको जे माग हो मेरो अजेण्डा पनि त्यहिँ नै हो। त्यसैलाई सम्बोधन गर्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएर अघि बढेको छु।’
महासंघका उद्योगी व्यवसायीका समस्या सुन्ने, देख्ने र उक्त समस्या समाधानका लागि सम्बन्धित निकायका लिएर लविङ गर्न सक्ने निडर नेतृत्वको आवश्यकता रहेको भन्दै त्यसका लागि आफू निर्विकल्प रहेको श्रेष्ठको दाबी छ।
‘हामीले व्यवसायीमाझ जे बोल्छौं सरकारसँग पनि त्यही विषय इमान्दारिताका साथ उठाउन पर्छ,’ श्रेष्ठले भने, ‘त्यो इमान्दारिता मसँग छ। यदि तपाईंहरूले निर्वाचित गरेर पठाउनु भएको खण्डमा पूर्ण रुपमा पालना गर्नेछु।’
महासंघमा अबका दिनमा हुने अध्यक्ष चन्द्रप्रसाद ढकालको सहयोगीको रुपमा अघि बढ्न वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको उनको भनाइ छ। आफूले जितेको अवस्थामा सबैखाले उद्यमी व्यवसायीले अपनत्व गर्ने महासंघ बताउने समेत उनले प्रतिवद्धता जनाए।
आर्थिक क्षेत्रको सम्वाहक निजी क्षेत्र भएको र निजी क्षेत्र नभई सरकार नचल्ने भन्दै अहिलेको अवस्थामा निजी क्षेत्रको मनोबल उकास्न नयाँ नयाँ कार्यक्रम ल्याउनका महासंले पहल गर्नुपर्ने श्रेष्ठले बताए।
‘बजारमा आएको मागको गिरावटका कारण अहिले उद्योगी व्यवसायीको सामान बिक्री हुने अवस्था छैन। जसका कारण बैंकको कर्जा तिर्न सक्ने अवस्थामा छैनौं,’ उनले भने, ‘हामी उद्योगी व्यवसायीले बैंकको कर्जा वा ब्याज तिर्दैनौं भनेका छैनौं तर, अहिलेको अवस्थामा राष्ट्र बैंकले कर्जाको पुनर्तालिकीरण र सरकारले ब्याजमा सहुलियत दिनु जरुरी छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।