काठमाडौं– नेपाल राष्ट्र बैंकका आर्थिक तथा वित्तिय अनुसन्धान विभाग प्रमुख डा प्रकाशकुमार श्रेष्ठले उद्योगीहरू घाटामा रहेको भन्ने तर उनीहरूको तथ्यांक भने लुकाउने गरेको आरोप लगाएका छन्।
मंगलबार काठमाडौंमा भएको एक कार्यक्रममा बोल्दै उनले राष्ट्र बैंक मात्र पारदर्शी नभई व्यवसायीहरू पनि पारदर्शी हुनुपर्ने बताए।
‘उद्योगीहरू धेरै कराउनुहुन्छ। तर, उहाँहरूको तथ्यांक त देख्न पाइँदैन’, कार्यकारी निर्देशक श्रेष्ठले भने, ‘उहाँहरूले धेरै घाटा लागेको त सुनिन्नछ, तर घाटा लागेको तथ्यांक कतै देखिएन।’
बैंकहरूको ऋण लगानी घरजग्गा र सम्पतिजस्ता विषयमा भएकाले समस्या भएको उनले बताए। ‘ऋण लिएर धेरै महत्त्वकांक्षी हुँदा पनि समस्या भएको छ। केही न केही रुपमा सबैले यसको जिम्मेवारी लिनुपर्छ’, उनले भने, ‘कोभिड महामारीकै समयको जस्तै अर्थतन्त्र छ।’
ब्याजदर समय आएपछि आफैं घढ्ने उनले बताए। लिक्विडिटी दर कम भएमा समस्या समाधान हुने बताए। अहिले ऋण लिने कार्य ठप्प भएकाले ब्याजदरको कुरै नभएको दाबी गरे।
‘ब्याजदर महंगो भयो भनिएको छ। तर, खर्च केमा लाग्छ भन्ने कुरा हो। जस्तो उद्योग खोल्नका लागि जग्गा खरिद गर्नुपर्ने र जग्गा महंगो हुँदा मूल्य बढेको छ। ज्याला र अन्य लागत पनि बढेको छ। तर, यसको चर्चा नै भएको छैन’, उनले भने, ‘लिक्विडिटी बढाउने प्रयास गरेका छौं। राष्ट्र बैंक आफैंले नगर्ने भएकाले यसमा बुझ्नुपर्ने हुन्छ। आयात बढ्ने हो भने अहिलेको अवस्था सुधार भएर पुरानै चक्रमा फर्कन्छ।’
कोभिड, युक्रेन युद्धजस्ता कुराले समस्या भएको उनले बताए। नेपालले उत्पादनमा केन्द्रित हुने समय भने आएको भन्दै श्रेष्ठले यसमा सबैले आ–आफ्नो ठाउँबाट भूमिका खेल्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।