काठमाडौं– राष्ट्र बैंकको पछिल्लो एक प्रतिवेदन अनुसार करिब ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्ने विदेशी विनिमय सञ्चिति रहेको छ।
चालु आर्थिक वर्षको फागुन मसान्तसम्मको वित्तिय तथा आर्थिक प्रतिवेदन अनुसार उक्त तथ्य सार्वजनिक भएको हो।
‘२०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १५.२ प्रतिशतले वृद्धि भई २०७९ फागुन मसान्तमा १४ खर्ब १ अर्ब २१ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ फागुन मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई १० अर्ब ६९ करोड कायम भएको छ,’ प्रतिवेदनमा भनिएो छ।
आर्थिक वर्ष २०७९/८० को आठ महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १०.९ महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिने राष्ट्र बैंकले जनाएको छ।
फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः २८.९ प्रतिशत, ७८.५ प्रतिशत र २४.२ प्रतिशत रहेका छन्।
२०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २५.१ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका राष्ट्र बैंकले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।