काठमाडौं– अर्थमन्त्री डा प्रकाशशरण महतले निजी क्षेत्रले व्यापारमा भन्दा उत्पादनमुलक क्षेत्रमा लगानी केन्द्रित गर्न उद्योगीहरूसँग आग्रह गरेका छन्।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभामा बोल्दै अर्थमन्त्री डा महतले मुलुकको अर्थतन्त्र सुधार गर्नका लागि निजी क्षेत्रले व्यापारमा मात्रै नभइ उद्योग व्यवसायमा लगानी केन्द्रित गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन्।
मन्त्री महतले मुलुकका हरेक संयन्त्रमा समस्या रहेको भन्दै सबैले सुधार गर्न आवश्यक रहेको पनि बताए।
‘सरकारका पनि कमीकमजोरीहरू रहेका छन्। सरकारले समयमा नै खर्च गर्नसकेको छैन। त्यो स्वीकार गर्नुपर्छ। समग्र सरकार र निजी क्षेत्र सबैतिर समस्या रहेको छ। राजनीतिक, निजी क्षेत्र र कर्मचारीतन्त्रमा समेत समस्या छ’, महतले भने, ‘त्यसैले सरकारको प्रभावकारिता बढ्न जरुरी छ। पारदर्शिता बढाउन जरुरी छ। निजी क्षेत्रको पनि व्यापारमा मात्रै केन्द्रित भइरहेको अवस्था छ। अब लगानीतर्फ केन्द्रित गर्न जरुरी छ।’
अर्थमन्त्री महतले सरकारले लगानीको वातावरण सहज बनाउनका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उपायहरू अघि सार्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।