काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले वर्तमान अर्थतन्त्रको संकट समाधानका लागि वृहत राष्ट्रिय विमर्श गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभामा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले सरकारसँग यस्तो प्रस्ताव राखेका हुन्। अर्थतन्त्र थप गम्भीर नबन्दै सबै पक्ष मिलेर समाधान गर्नुपर्नेमा ढकालले जोड दिएका छन्।
‘सरकार, राष्ट्र बैंक, विकास साझेदार, अर्थविद् तथा निजी क्षेत्रको सहभागितामा वृहत राष्ट्रिय विमर्श गरी अर्थतन्त्रको संकटमोचनको रोडम्याप बनाउनु पर्छ। मुलुकको अर्थतन्त्र संकटको डिलमा रहेकोले सबै सरोकारवालाहरूले समयमा नै विचार गर्दा आर्थिक समस्या समाधान गर्न गाह्रो हुँदैन,’ ढकालले भने, ‘नेपालको जस्तो सानो अर्थतन्त्रलाई केही महिनाभित्र लयमा फर्काउन सम्भव रहेको छ। यसका लागि सरकारले निजी क्षेत्रलाई साथमा लिएर अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ।’
ढकालले नेपाल राष्ट्र बैंकले लचिलो मौद्रिक नीतिमार्फत् बजारमा तरलता बढाउने र ब्याजदर घट्ने उपकरणहरू ल्याउनुपर्ने बताएका छन्। अर्थतन्त्रको मेरुदण्ड निजी क्षेत्र भएको भन्दै निजी क्षेत्रलाई प्रोत्साहान गर्नुपर्ने ढकालले माग गरे।
दुई दिन चल्ने महासंघको साधारण सभाबाट वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्व निर्वाचनमार्फत् चयन हुँदैछ। ढकाल स्वत: अध्यक्ष हुँदैछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।