काठमाडौं– अर्थमन्त्री डा प्रकाश शरण महतले अहिले बन्द रहेको घरजग्गा कित्ताकाट सहज बनाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन्।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधरण सभाको उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री महतले उक्त कुरा बताएका हुन्।
‘घरजग्गाको कित्ताकाट सहज बनाउन पनि हामी छलफल गरिरहेका छौँ। घरजग्गाको कित्ताकाट सहज बनाउँदा मात्रै पनि बजार सहज हुने स्थिति छ,’ अर्थमन्त्री महतले भने।
यस्तै, अर्थमन्त्री महतले मौद्रिक नीतिको समीक्षा गर्नुपर्ने बेला भएको बताएका छन्। कोभिड–१९ पछिको अर्थतन्त्रको दबाब कम गर्न लिइएको मौद्रिक नीतिको कारणले केही समस्या आएको भन्दै यसलाई फुकाउने समय भएको दाबी गरेका छन्।
मौद्रिक नीतिमार्फत् आयात रोकेका कारण राजश्वमा दबाब तथा बैंकको ब्याजदर बढ्दा लगानीको वातावरण बिग्रेको अर्थमन्त्री महतले दाबी गरेका छन्। अर्थतन्त्रमा देखिएका सबै समस्याको समाधान गर्न राष्ट्र बैंकको मौद्रिक नीतिमा समीक्षा,निक्षेप र कर्जाको ब्याजदर घटाउन, स्प्रेडदर परिवर्तनका लागि राष्ट्र बैंकसँग आन्तरिक छलफलमा रहेको मन्त्री महतले जानकारी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।