काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योगी तथा व्यवसायीहरूलाई पनि राष्ट्रिय मर्यादाक्रममा समेट्ने प्रतिबद्धता जनाएका छन्।
मंगलबार नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले उक्त प्रतिबद्धता जनाएका हुन्।
‘नेपालको संविधानले तीनखम्बे अर्थनीतिको संवैधानिक व्यवस्था गर्दै निजी, साझेदारी र सहकारीको मोडल अगाडि सारेको छ, यसले प्रष्ट गर्छ कि राज्य र निजी क्षेत्रबीच बलियो एकता र सहकार्यले मात्र समृद्धि र विकासको राष्ट्रिय आकांक्षा प्राप्त गर्न सकिन्छ,’ प्रधानमन्त्री प्रचण्डले भने,‘निजी क्षेत्रलाई राज्यको तर्फबाट सम्मानित गर्नुपर्ने र प्रोटोकलमा समावेश गर्नुपर्ने जुन विषय यहाँहरूले उठाउनुभएको छ, यस प्रस्तावमा आवश्यक छलफल गरी उपर्युक्त निष्कर्षमा पुग्ने प्रतिवद्धतासमेत व्यक्त गर्दछु।’
मंगलबार काठमाडौंमा सुरु भएको महासंघको साधारण सभा बुधबार वरिष्ठ उपाध्यक्षसहित नयाँ नेतृत्व चयन गर्दै सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।