काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैंकको ब्याजदर घटाउने विषयमा सरकार छलफलमा रहेको बताएका छन्। मंगलबार उद्योग वाणिज्य महासंघको ५७औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले बैंक ब्याजदर कम गर्ने र राजश्व संकलनलाई बढाउने बारेमा सरकारका सबै अंगसँग आफू छलफलमा रहेको बताए।
उनले सरकार बजेट तथा नीति निर्माणको प्रक्रियामा अन्तिम चरणमा रहेको बताउँदै आगामी वर्षको बजेटमा अर्थतन्त्रको समस्या समाधान गर्ने उपायसहितका योजना समावेश गरिने जानकारी दिए। प्रधानमन्त्री प्रचण्डले सरकारले पछिल्लो समय अर्थतन्त्र सुधारका लागि सम्पूर्ण शक्ति लगाएर काम गरिरहेको पनि दाबी गरे।
उनले सरकारले राजश्व संकलन, रेमिट्यान्स र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी चलायमान बनाउने भन्नेबारेमा जोड दिइरहेको बताए। प्रधानमन्त्री प्रचण्डले आफूले सरकार सञ्चालन गरेको तीन महिनामा विदेशी मुद्राको सञ्चिति उत्साहजनक हुँदै गएको उल्लेख गरे। झण्डै ११ महिना पुग्ने विदेशी सञ्चिति अहिले देशसँग रहेको उनको भनाइ छ।
‘यो बीचमा गरिएका कामहरू केही राजनीतिक उत्तारचढावका कारण जति तिब्रताका साथ जानुपर्ने हो, त्यति जान सकेको छैन। अलि अफ्ठ्यारो परेकै हो तर, अब परिस्थिति फेरिएको छ। हामीले अब सम्पूर्ण तागत अर्थतन्त्रलाई लयमा ल्याउन, गति दिन तरलताको समस्या भनेका छौं’, प्रधानमन्त्री प्रचण्डले भने, ‘राजश्व संकलनको स्थितिलाई, रेमिट्यान्सको स्थितिलाई र अन्य अर्थतन्त्रका सूचकहरूलाई कसरी समाधान गर्ने भन्नेमा निकै बढी जोड गरिएको छ। तीन महिनाको गएको अवधिमा सन्तोष गर्ने ठाउँ के छ भने विदेशी मुद्राको सञ्चिति सन्तोषजनक मात्रै होइन, विस्तारै उत्साहजनक छ। हामीलाई झन्डै ११ महिना पुग्ने विदेशी सञ्चिति हामीसँग छ।’
प्रधानमन्त्री प्रचण्डले लगानीमैत्री एवं व्यवसायमैत्री वातावरणका लागि सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए। उनले कृषिको उत्पादन पछिल्लो समय घटेको र कृषिजन्य सामग्री नेपालमा धेरै आयात हुँदै जानु दुःखद् भएको बताए।
उनले सरकार आगामी आर्थिक वर्षको बजेट तथा नीति निर्माणमा केही ठूला, नयाँ र गुणात्मक योजना अघि बढाउने तयारीमा रहेको पनि बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।