काठमाडौं– ‘हाम्रो सिन्धुपाल्चोक हाम्रो सान, सुन्दर समाज निर्माणमा सामूहिक अभियान’ नाराका साथ गठन गरिएको सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाज जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा दर्ता गरिएको छ।
विश्वभरी छरिएर रहेका सिन्धुपाल्चोकवासीलाई एकत्रित गर्ने लक्ष्यका साथ उक्त संस्था दर्ता गरिएको हो। सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजका अध्यक्ष हरिकृष्ण न्यौपाने (कुवेत हाल नेपाल)ले समाज गठनकाबारे भने, ‘सामुदायिक सोच, सिद्धान्त र भावना अनुसार सामूहिक हित हुने गरी र सिन्धुपाल्चोकका १०३ वटै वार्डसम्म पुगेर विशुद्ध सामाजिक कार्य गर्ने उद्देश्यका साथ हामी एकत्रित भएका हौं।’
सिन्धुपाल्चोकका हरेक नागरिकको दुःख सुखमा हातेमालो गर्न सिन्धुपाल्चोकमा जन्मिएर विभिन्न अवसरका लागि देश/विदेशमा पुगेकालाई जोड्ने अभियान अनुरुप संस्था दर्ता गरिएको उनले जानकारी दिए।
यसअघि पनि जिल्लाका विपद्का घटनामा विदेशमा रहेका सिन्धुपाल्चोकवासीले सहयोग गरेको र यसलाई अझै व्यवस्थित र संगठित रुपमा लैजानका लागि संस्थागत प्रक्रियामा गएको उनको भनाइ छ।
तत्कालका लागी सिन्धुपाल्चोकका पर्यटकीय स्थलको जानकारीहरू समेटेर समाजले आगामी वर्षको क्यालेन्डर प्रकाशन गरी सिन्धुपाल्चोकका कलेज र क्याम्पसका विद्यार्थीहरूलाई निःशुल्क वितरण गर्ने लक्ष्य राखिएको समाजका महासचिव उत्सव खड्का (दक्षिण कोरीया हाल नेपाल)ले जानकारी दिए।
सिन्धुपाल्चोक अन्तर्राष्ट्रिय समाजको उपाध्यक्षमा माधव पौडेल(कुवेत), सचिवमा हरि दुलाल(यूएइ हाल नेपाल), कोषाध्यक्षमा विमल गीरी (कतार हाल नेपाल) रहेका छन्। सदस्यहरूमा किर्तिमाया तामाङ (कुवेत हाल नेपाल), प्रेम बहादर भण्डारी(नेपाल), नविन श्रेष्ठ (दक्षिण कोरिया), प्रदिप कार्की (कुवेत) रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।