पेरिस– अश्लिल सामग्री पस्किने प्लेब्वाय पत्रिकाको कभर पेजमा फ्रान्सकी एक महिला मन्त्रीको फोटो सार्वजनिक भएपछि यसले विश्वको ध्यान तानेको छ।
फ्रान्स सरकारमा सामाजिक न्याय मन्त्रालयको कार्यभार सम्हालिरहेकी मार्लेन सिआप्पाको फोटो प्लेब्वायले आफ्नो कभरमा प्रकाशित गरेको हो। ४० वर्षीय मार्लेनको फोटो पत्रिकामा प्रकाशित भएपछि उनको देशव्यापी आलोचना भइरहेको छ। प्रधानमन्त्री एलिजाबेथ वार्न र अन्य मन्त्रीले यसको आलोचना गरेका छन्।
प्लेब्वायले समलैंगिक तथा महिला अधिकारको विषयमा उनीसँग १२ पेज लामो अन्तर्वार्ता गरेको थियो। प्लेब्वाय पत्रिकाको कभर पेजलाई सोसल मिडियामा शेयर गर्दै मार्लेनले लेखेकी छिन्, ‘महिलालाई आफ्नो शरीरप्रति पूरा अधिकार छ। उनीहरू आफ्नो शरीरलाई जे गर्न पनि स्वतन्त्र छन्।’
उनले पत्रिकामा प्रकाशित आफ्नो फोटोको प्रतिरक्षा पनि गरेकी छिन्। उनी भन्छिन्, ‘फ्रान्सको महिला स्वतन्त्र छन्, पुरानो सोच राख्नेहरूलाई समस्या परेको होला, त्यो उनीहरूको कुरा हो।’
फ्रान्समा सेवानिवृत्त हुने उमेर बढाएपछि यसविरूद्ध केही सातादेखि आक्रामक प्रदर्शन भइरहेको छ। यसैबीच मन्त्रीको प्लेब्वायमा फोटो प्रकाशित भएपछि स्थितिले अर्को रूप लिनसक्ने आशंका गरिएको छ। विपक्षी पार्टीले प्रतिक्रिया दिँदै भनेका छन्, ‘मार्लेनले फ्रान्सेली जनताको इज्जतमा चोट पुर्याएकी छिन्।’
प्लेब्वाय पत्रिकाले भने मार्लेनको समर्थन गरेको छ। उसले महिला अधिकारका लागि लड्ने मार्लेनको फोटो आफ्नो पत्रिकाको मुख्यपृष्ठमा प्रकाशित हुनु गर्वको कुरा भनेको छ।
प्लेब्वाय पत्रिका सन् १९५३ देखि प्रकाशित हुँदै आइरहेको छ। यसका संस्थापक ह्यु हेफनरको ९१ वर्षको उमेरमा २०१९ मा निधन भएको थियो। यो पत्रिकाको बिक्री कुनै बेला प्रतिमहिना ७० लाख थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।