नयाँ दिल्ली– भारतीय कांग्रेस पार्टीका नेता राहुल गान्धीले आफूविरूद्ध लागेको मानहानी मुद्दाविरूद्ध अदालतमा अपिल गर्ने भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई इंगित गर्दै ‘मोदी थर’ का सबैलाई चोर भनेको आरोपमा हालै सुरतको अदालतले उनलाई दोषी ठहर गरेको थियो। उनले चुनावको र्यालीलाई सम्बोधन गर्ने क्रममा यस्तो टिप्पणी गरेका थिए।
राहुलले आफूले गरेको टिप्पणीप्रति माफी नमाग्ने बताउँदै आएका छन्। आइतबार आफ्नी आमा सोनिया गान्धी, दिदी तथा कांग्रेस पार्टीकी महासचिव प्रियंका गान्धी र भिनाजु रोबर्ट वाड्रासँग डेढ घण्टा लामो बैठकपछि राहुलले अदालतमा आफूविरूद्ध लागेको आरोपलाई चुनौति दिने बताएका हुन्।
राहुललाई सुरतको सीजेएम कोर्टले २ वर्षको लागि दोषी ठहर गरेको थियो। उनलाई निर्णय चित्त नबुझे एक महिनाभित्र अपिल गर्नसक्ने समय पनि प्रदान गरिएको थियो। राहुलले सोमबार सुरत पुगेर आफूविरूद्ध लगाइएको आरोपलाई चुनौती दिनेछन्।
राहुलले सन् २०१९ को लोकसभा चुनावको बेला ‘मोदी थर’ लाई लिएर विवादास्पद टिप्पणी गरेका थिए। उनीविरूद्ध गुजरातका सांसद भारतीय जनता पार्टीका पूर्व मन्त्री पूर्णेश मोदीले मानहानीको मुद्दा दायर गरेका थिए।
यही मुद्दामा सुरतको अदालतले राहुललाई दोषी ठहर गर्दै २ वर्षको सजाय सुनाएको थियो। अदालतको यो निर्णयपछि राहुलको सांसद सदस्यता रद्द भएको थियो। जुनदिन उनीविरूद्ध फैसला भएको थियो, त्यही दिन लोकसभाको सचिवालयले उनको सदस्यता खारेज गरेको थियो।
लोकसभा सचिवालयले हतारोमा काम गरेको भन्दै नरेन्द्र मोदी सरकारको आलोचना पनि भइरहेको छ। विपक्षीहरूले विरोधीलाई समाप्त पार्न भाजपाले अदालतको सहयोग लिएको आरोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।