काठमाडौं– वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा बारा–२ मा लोकतान्त्रिक समाजवादी पार्टीले जनता समाजवादी पार्टीलाई सहयोग गर्ने भएको छ।
यसअघि उक्त क्षेत्रबाट लोसपाका नेता राजेन्द्र महतो उठ्ने तयारी गरेका थिए। तर, लोसपा अध्यक्ष महन्थ ठाकुरले गठवन्धनको उम्मेदवारलाई सहयोग गर्ने निर्णय गरेका छन्। लोसपाको उक्त निर्णयपछि महतो पछि हटेका छन्।
जसपाले अध्यक्ष उपेन्द्र यादवलाई उक्त क्षेत्रमा उम्मेदवार बनाउने तयारी गरेको छ। उनी सत्ता गठबन्धनका साझा उम्मेदवार हुनेछन्।
सत्ता गठबन्धनभित्र बसेकाले अर्को उम्मेदवार उठाउने भन्दा गठबन्धनभित्रै उम्मेदवारलाई सहयोग गर्ने निर्णय पार्टीले लिएको लोसपाका एक नेताले बताए।
उक्त क्षेत्रमा नेपाली कांग्रेस र माओवादीले जसपाका उम्मेदवार यादवालाई सहयोग गर्ने निर्णय लिएकाले लोसपा पनि पछि हटेको हो। उक्त निर्वाचन क्षेत्रमा जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले मात्र उम्मेदवार तय गरेका छन्।
बारा–२ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति भएपछि उक्त क्षेत्रमा पुन: निर्वाचन हुन लागेको हो।
बारा–२ सहित चितवन– २ र तनहुँ– १ मा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ। निर्वाचनका लागि सोमबार मनोनयन दर्ता गर्ने निर्वाचन आयोगको कार्यतालिका रहेको छ।
उक्त क्षेत्रमा रास्वपावाट रमेश खरेल र जनमतवाट शिवचन्द्रप्रसाद कुशवाह उम्मेदवार हुने निश्चित रहेको छ। नेकपा एमालेले पनि हालसम्म उम्मेवार चयन गरेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।