काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) ले पहिलो चरणमा सरकारमा पठाउने दुई मन्त्रीको नाम टुंगो लगाएको छ । पहिलो चरणमा पार्टीले सुनिलबहादुर थापा र विक्रम पाण्डेलाई पठाउने भएको हो।
पार्टीको भागमा परेको चार मन्त्रीमध्ये दुई जनाको नाम टुंगो लागिसकेको राप्रपा (प्रजातान्त्रिक) का एक नेताले नेपाल लाइभलाई जानकारी दिए।
‘विक्रम पाण्डे र सुनिलबहादुर थापाको नाम पक्का भइसकेको छ। थप २ जनाको विषयमा छलफल भइरहेको छ, सम्भवत: सोमबारसम्ममा चारै मन्त्रीको टुंगो लाग्नेछ’, ती नेताले भने ।
पाण्डे र थापा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) फुट्दा पशुपतिशमशेर राणा नेतृत्वको राप्रपा (प्रजातान्त्रिक) मा गएका थिए। पार्टी एकताअघि पनि दुवै नेता राणा समूहमै थिए।
मन्त्रीका लागि दीपक बोहराको नाम समेत चर्चामा रहे पनि यसबारे पार्टीमा सहमति जुट्न सकेको छैन। कमल थापासँग पार्टी फुटाउँदा बोहराको भूमिकाबारे शंका उब्जिएपछि उनलाई मन्त्री बनाउने विषयमा पार्टीभित्र विवाद आएको हो।
राप्रपा (प्रजातान्त्रिक) का तर्फबाट रामकुमार सुब्बा र रेशम लामा पनि मन्त्रीको दौडमा छन्। बोहराको विषयमा सहमति जुट्न नसकेपछि सुब्बा र लामालाई पठाउने सम्भावना बलियो रहेको पार्टी स्रोत बताउँछ ।
देउवा मन्त्रिमण्डलमा राप्रपा (प्रजातान्त्रिक) ले वन, शान्ति तथा पुन:निर्माण, उद्योग र विज्ञान तथा प्रविधि मन्त्रालय पाउने भएको छ।
पार्टी विभाजनपछि थापा र राणा दुवै पक्ष सर्वोच्च अदालतमा मुद्दा लडिरहेको समयमा राणा पक्ष सरकारमा जान लागेको हो । राणाले पार्टी दर्ताबारे रिट दर्ता गराउँदै निर्वाचन आयोगमा पार्टी दर्ता गराएका थिए भने थापा त्यसलाई रोक्न सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि राणा पक्षलाई सरकारमा जान बाटो खुलेको थियो।
भदौ २६ गते दुवै पक्षको दोहोरो बहस हुने पेशी तोकिएको अवस्थामा त्यसअघि नै राणा पक्ष सरकारमा जाने तयारीमा छ। सरकारमा राणा पक्षले राज्यमन्त्री पनि पाउने भए पनि संख्याको टुङ्गो भने लागेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।