मैले त्यसो गर्नु असम्भव थियो
आत्महत्या!
असफलता र निराशाहरूसँग
म धेरै लडेको छु, दिनरात
अर्ति उपदेश दिएको छु, निराशहरूलाई
तर अन्तमा
धम्मपद र गीता पनि असफल भए
र यौटा कुकुरको छाउरो....
सबैभन्दा पहिले मलाई आमाले धिक्कारिन्
मैले कुनै पेशा अपनाउन सकिनँ, निर्वाहका निम्ति
अनि प्रेमिका टाढिइन्
आम्दानी गर्ने बाटो मेरो थिएन
धेरैले मलाई सम्झाए कि
दिनमा तीन पटक खाना जुटाउनु जीवन हैन
यौटा डेराको बन्दोबस्ती उपलब्धि होइन
के संसारका प्रत्येक व्यक्ति धनी बन्न सम्भव छ?
उत्तर कसैसँग थिएन
डिग्री बोक्ने या नबोक्ने दुवै किन बेरोजगार छन्?
गरिबलाई चोर भन्नु र
कुरुपलाई बोक्सी भन्नु पुरानो फेशन हो
तर ३९ को उमेरमा दोस्रो प्रेमिका गुमाउनु
बास नहुनुभन्दा असह्य कुरा हो
सबैतिरबाट गलत र एक्लो देखिनु
खान नपाउनुभन्दा पनि भयावह हुनसक्छ
बास र गाँस भन्दा पर पनि
मानव जीवनको सिमाना फैलिएको छ
असफलताले आत्महत्या गर्नेहरू छन्
ऋण लागेर मर्नेहरू छन्
प्रेमीले धोका दिएर पासो लगाउने,
विष खानेहरू मैले देखेको छु
म हाँसेको थिएँ उनीहरूको लाश देखेर
तर चट्याङ् जहिलेसुकै
जोसुकैमाथि खस्दो रहेछ
तर मैले त्यसो गर्नु असम्भव थियो
आत्महत्या!
अनि यौटा कुकुरको दुई महिने बच्चाले
कसैको आत्महत्या रोक्ने कुरा मलाई थाहा थिएन
काठमाण्डूको कुनै अन्धकार गल्लीमा
विषको सिमसार कुल्चन लागेको
मेरो खुट्टाको गोलीगाँठोमा
नरम र न्यानो जिब्रोले चाटेर
जीवनको गरम फाँटमा फर्काउन सक्छ भन्ने
मलाई साँच्चैँ नै थाहा थिएन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।