काठमाडौं– राजनीतिक अस्थिरता र सरकारको मौद्रिक नीतिका कारण मुलुकको अर्थतन्त्र संकटमा परेको भन्दै उद्योग व्यवसायीले चिन्ता व्यक्त गरेका छन्। व्यवसायीहरुले संकटपूर्ण अर्थतन्त्रको समाधान गर्न नेपाली कांग्रेसले अग्रणी भूमिका खेल्न पनि माग गरेका छन्।
नेपाली कांग्रेसका नेता डा शेखर कोईराला र महामन्त्री गगनकुमार थापाले अर्थतन्त्रमा देखिएको वर्तमान संकटबारे मंगलबार उद्योग व्यवसायीसँग छलफल गरेका थिए।
उक्त छलफलमा सहभागी व्यवसायीहरुले राजनीतिक अस्थिरता र स्थिर मौद्रिक नीति नहुँदा अर्थतन्त्रमा संकट पैदा भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।
छलफलमा अधिकांश व्यवसायीहरुले सरकारमा नेपाली कांग्रेसले अर्थमन्त्रालय पाउने भन्दै अर्थमन्त्री पाएपछि सबैभन्दा पहिला बैंकको उच्च ब्याजदर नियन्त्रण गर्न सुझाव दिएका थिए।
व्यवसायीहरुले मुलुकको अर्थतन्त्र इतिहासकै खराब अवस्थामा आएको भन्दै उद्योगी व्यवसायीहरु बाच्न नसक्ने अवस्थासमेत नभएको बताए। व्यवसायीहरुले सरकारले उद्योग व्यवसाय बढाएर राजश्वमा वृद्धि गर्न लगानीको वातावरण बनाउन आवश्यक रहेको पनि माग गरेका थिए।
छलफलमा बोल्दै उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकाले सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा आमुल परिवर्तनको आवश्यकता रहेको बताएका थिए।
मुरारकाले निजी क्षेत्रले मुलुकमा उत्पादन अभिवृद्धिदेखि रोजगारी सिर्जनासम्म योगदान गर्दा समेत राज्यको दृष्टिकोण सकारात्मक नभएको गुनासो गरेका थिए।
‘उद्योगबाट राज्यलाई ठूलो फाइदा हुन्छ। राज्यले अतिरिक्त आम्दानी गर्न पाउँछ। तर, कतिपय प्रशासनिक कारण र नियम कानुनले गर्दा धेरै समस्या छ। त्यसतर्फ कसैको पनि ध्यान गएको छैन। यसले उद्योगीलाई निरुत्साहित बनाएको छ,’ मुरारकाले भने, ‘देशमा उद्योग सञ्चालन गर्न सहज वातावरण त हुनुपर्यो नि! एउटा उद्योग दर्ता गर्न कम्पनी रजिस्ट्रारमा जानुहुन्छ भने उसले पुँजीको आधारमा दर्ता गर्छ। उद्योग दर्ताका लागि प्रवेश शुल्क नै लगाइदिएको छ। कोठामा छिर्नकै लागि प्रवेश शुल्क लगाइदिएको छ। बन्देज त त्यहाँबाटै भयो नि! यी साना–साना कुराहरु हुन्। तर, कहाँ–कहाँ यस्ता छिद्र थिए, त्यसलाई हटाउन सक्यो भने उद्योगीलाई धेरै सहज हुन्छ।’
त्यस्तै, नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष विष्णुकुमार अग्रवालले व्यापार व्यवसाय ४० प्रतिशतले गिरावट आएको भन्दै अर्थतन्त्रमा आशा गर्न सकिने ठाउँ नै नभएको बताएका थिए। उनले सहकारीको पैसा सबै जग्गा र सेयर बजारमा जाँदा ठूलो समस्या निम्तिएको बताएका थिए।
अध्यक्ष अग्रवालले एक वर्षअघि नै राजश्व कम हुने, मागको संकुचन हुनेबारे जानकारी सरकारलाई दिए पनि त्यसतर्फ ध्यान नदिएको गुनासो गरेका थिए। अहिले आन्तरिक उत्पादनमा मात्र नभइ समग्र आपूर्ति श्रृंखलामा नै समस्या देखिएकाले वर्तमान समस्या समाधानको लागि उद्योगी व्यवसायी, अर्थमन्त्री, गभर्नर र बैंक बसेर छलफल गरी ब्याजदर घटाउन आवश्यक रहेको बताएका थिए।
त्यस्तै,कार्यक्रममा परिसंघका पूर्वअध्यक्ष हरिभक्त शर्माले अर्थतन्त्र इतिहासकै खराब अवस्थामा रहेको बताए। उनले प्रेडिक्टेबल इकोनोमिक पोलिसी नै नभएको देशमा लगानी बढ्न नसक्ने भन्दै राजनीतिक पार्टीहरुले आफ्नो आर्थिक नीति स्पष्ट गर्न जरुरी रहेको बताएका थिए।
महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठले अर्थतन्त्रका समस्याबारे राजनीतिक दल र नेताहरू गम्भीर हुन नसकेको बताएका थिए। उनले अर्थतन्त्रको बाटो के हो भन्नेमा पार्टीहरू आफैं स्पष्ट हुन नसकेको आरोप लगाए। श्रेष्ठले वर्तमान अर्थतन्त्रका चुनौती र समस्या सुधारका योजना बनाएर सरकारले काम गर्न आवश्यक रहेको भन्दै मौद्रिक नीति र आर्थिक नीतिको कारण मुलुकको अर्थतन्त्र अरालो लाग्ने परिस्थिति आएको दाबी गरे।
त्यस्तै,नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष दीपक मल्होत्राले सरकारले अवैधानिक कारोबार गर्ने समूहसँग डराएर एडीएस प्रणाली लागू गर्न रोक लगाइएको गुनासो गरे। राजश्व प्रणालीमा जोडिएको मोबाइल कारोबार रोकेर सरकारले चोरी पैठारी भएर आएका मोबाइल कारोबारलाई प्रश्रय दिइरहेको र सरकारले एमडिएमएस प्रणाली लागू गर्न रोक लगाएको चार महिनामा २७ लाख मोबाइलहरु चोरी पैठारी भएको मल्होत्राले आरोप लगाए।
छलफल कार्यक्रममा सहभागि उद्योगी व्यवसायीहरुले आर्थिक विषयमा वृहत छलफल जरुरी भएकाले सबै पार्टीमा आर्थिक विषयमा बहस गर्न आवश्यक रहेको बताएका थिए। उनीहरुले सरकारले आर्थिक नीति तथा मौद्रिक नीति व्यवसायीहरुको हीतमा परिमार्जन गर्नसके अर्थतन्त्र लयमा आउने सुझाव दिएका छन्।
व्यवसायीहरुले अब बन्ने सरकारमा अर्थमन्त्री कांग्रेसले लिएर संकटपूर्ण अर्थतन्त्र चलायमान गर्न सुझाव दिएका छन्। व्यवसायीहरुले कांग्रेसले अर्थतन्त्र बुझ्न र वर्तमान समस्या समाधान गर्न सक्ने व्यक्ति अर्थमन्त्री बनाउनसमेत अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।