काठमाडौं- प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा चार दलीय गठबन्धनको निर्णायक बैठक फेरि सुरु भएको छ। बिहान चार घण्टा छलफल गरेर स्थगित गरिएको बैठक फेरि बसेको हो।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरू बैठकमा सहभागी छन्।
पुरानै गठबन्धन ब्युँताउने तथा राष्ट्रपतिमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई उम्मेदवार बनाउने विषयमा लगभग सहमति जुटेको नेताहरूले बताएका छन्।
उपराष्ट्रपतिका लागि जसपाले दाबी गरेको छ। अन्य दलको समर्थन रहेको छ। एकीकृत समाजवादीले समेत राष्ट्रपतिमा दाबी गरेपनि चार दल भित्रैबाट एकजना राष्ट्रपति बनाउने विषयमा सहमत भएको छ।
शक्ति बाँडफाँटमा कुरा मिल्दा राष्ट्रपतिमा पौडेललाई समर्थन गर्न सकिने संकेत एकीकृत समाजवादीले दिएको कांग्रेस नेताहरू बताउँछन्। सत्ता गठबन्धन समेत फेरिने भएकाले बाँकी विषयमा अहिलेको बैठकले टुंगो लगाउनेछ।
यसअघि प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीसँग समेत दुई घण्टा छलफल गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।