काठमाडौं– नेपाली कांग्रेसका सांसद रमेश लेखकले पाँच वर्षमा बनाउने भनिएका योजना १० वर्षमा पनि नसकिने गरेको भन्दै आपत्ति जनाएका छन्।
शुक्रबार प्रतिनिधि सभा बैठकमा लेखकले राष्ट्रिय सभामार्फत सन्देशसहित प्राप्त भएको अनुगमन तथा मूल्यांकन विधेयक, २०७८ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा भाग लिँदै भौतिक विकासको सन्दर्भमा योजना तर्जुमा गर्ने, बजेट विनियोजन गर्ने भए पनि योजना सम्पन्न नहुने गरेको टिप्पणी गरे।
‘योजनाहरू हामी तर्जुमा गर्छौं। बजेट विनियोजन गर्छौं। योजना प्रारम्भ गर्छौं। तर, योजना समयमा सम्पन्न हुँदैनन्’, उनले भने, ‘योजनामा गुणस्तर कायम नहुने, पाँच वर्षका लागि बनाउने भनेको योजना १० वर्ष नसकिने। यस्तो भइरहेको छ।’
उनले सडक एकातिरबाट पिच गर्दैगर्दा अर्कोतर्फ भत्किने गरेको पनि आरोप लगाए। यसको उचित अनुगमन र मूल्यांकन जरुरी रहेको उनको भनाइ छ।
उनले समयमा काम नहुने, गुणस्तर कायम नभएको अनुगमनको क्रममा देखिएको अवस्थामा त्यस्तो व्यक्ति वा संस्थाका पदाधिकारीलाई कारबाही के कसरी गर्ने हो भन्नेबारेमा विधेयक मौन रहेको आरोप लगाए।
सांसद लेखकले अनुगमन र मूल्यांकनको प्रतिवेदन थन्काएर राख्ने हो भने त्यसको अर्थ नहुने टिप्पणी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।