काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिमा नेकपा एमालेबाट उम्मेदवारी दर्ता हुने बताएका छन्।
प्रतिनिधि सभाको शुक्रबारको बैठकबाट बाहिरिने क्रममा अध्यक्ष ओलीले एमालेबाट उम्मेदवार हुने विषयको टुङ्गो पुस १० गते नै भएको दाबी गरे।
‘एमालेबाट भोलि मनोनयन हुन्छ। एमालेको उम्मेदवार हुन्छ भन्ने त पुस १० गते टुङ्गो लगाएर बसेका छौँ,’ अध्यक्ष ओलीले भने।
यता, कांग्रेससहितको गठबन्धन ब्युँताएर माओवादी केन्द्र, एकीकृत समाजवादीले भने कांग्रेसका उम्मेदवारलाई राष्ट्रपतिमा समर्थन गर्ने सहमति भएको बताइएको छ। जसलाई औपचारिकता दिन साँझ ५ बजे चार दलीय बैठक बस्दैछ।
यस्तो अवस्थामा एमालेसहितको सत्तागठबन्धनको भविष्य के हुने भन्ने अन्योल बढेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।