काठमाडौं- स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लोकतन्त्रमा सर्वोच्च अदालतका प्रधानन्यायाधीशले नै अन्याय खेप्नुपर्ने हो? भन्दै संसदमा प्रश्न उठाएका छन्। शुक्रबार प्रतिनिधि सभाको शून्य समयअघि बैल्दै उनले सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्तिबारे प्रश्न उठाए।
‘हामी कस्तो लोकतन्त्रको कल्पना गरिरहेका छौं। लामो समयसम्म प्रधानन्यायाधीश नियुक्ति हुँदैन अनि अन्तिममा प्रधानन्यायाधीश सरहको सुविधा दिने निर्णय गरिन्छ,’ उनले भने, ‘सरकार र दल सार्वभौम भएर लोकतन्त्र जोगिन्छ। प्रधानन्यायाधीशले न्याय पाएको छैन। विगतमा पनि न्यायपालिकालाई तर्साएर आफ्नो गल्ती रोक्न खोजिएको थियो। अहिले पनि न्यायालय कमजोर पार्ने कार्य भइरहेको छ।’
उनले सर्वोच्च अदालतको प्रधानन्यायाधीशलाई कामु रुपमै नराखी तत्कालीन नियुक्ति प्रक्रिया अघि बढाउन माग गरे। ‘सरकार बनेको कति दिन भयो। सर्वोच्चमा सरकारले कामु प्रधानन्यायाधीश राखेर न्यायपालिकालाई कमजोर बनाउन खोजेको होर?,’ उनले प्रश्न गरे, ‘हैन भने संवैधानिक परिषदको बैठक राखेर किन सिफारिस गरिदैन।’
उनले नक्कली प्रमाणपत्र पेस गरेको खुलासा भएका एक प्रहरी अधिकृतमाथि छानविनको पनि माग गरे। सरकारले ती प्रहरीलाई आइजीपी बनाउन खोजेको थियो तर नक्कली प्रमाणपत्र भएको सार्वजनिक भएपछि बच्नका लागि राजीनामा दिएकाले उनीमाथि छानविन हुनुपर्ने माग गरे। उनी नक्कली प्रमाणपत्रका दोषी भएकाले राजीनामा दिएर उन्मुक्ति नदिई अख्तियारले छानविन गर्नुपर्ने उनले माग गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।