काठमाडौं– राष्ट्रपतिमा साझा उम्मेदवार तय गर्न ४ दलका नेताहरुबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ४ घन्टा बसेको बैठक विना निष्कर्ष स्थगित भएको छ। राष्ट्रपतिमा नेपाली कांग्रेसका साथै एकीकृत समाजवादीले समेत दाबी नछाडेपछि सहमति जुटाउन मुस्किल परेको हो।
आ-आफ्नो दलमा छलफल गरेर फेरि बेलुकी ५ बजे बस्नेगरी बैठक स्थगित गरिएको कांग्रेस महामन्त्री गगन थापाले बताए।
छलफल सकारात्मक रहेको बताउँदै उनले अन्य दलले समेत राष्ट्रपतिमा दाबी गरेको बताए। उनले भने, ‘अन्य दलले पनि राष्ट्रपतिका रुपमा प्रस्ताव गर्ने नै भए। उनीहरुले पनि आफ्नो उम्मेदवारलाई किन सहयोग नगर्ने भन्ने दाबी गर्ने नै भए। हामीले पनि हाम्रो प्रस्तावको औचित्य पुष्टि गर्ने नै भयौं। अरुले पनि आफ्नो प्रस्तावको औचित्य पुष्टि गर्ने प्रयास गर्ने नै भए। हामीले सहयोग माग्दा अन्य दलले पनि आफूलाई सहयोग किन नगर्ने भन्ने नै भए।’
अहिले प्रस्ताव त्यसरी आएपनि बेलुकी ५ बजे सबै एक ठाउँ उभिन्छौं भन्नेमा सकारात्मक रहेको थापाले बताए। उनले थपे, ‘राष्ट्रपतिको उम्मेदवारका लागि विभिन्न विकल्पका बारेमा प्रस्ताव आए। ती विकल्पमा छलफल चलिरहेको छ। हामी एउटा टुंगोमा पुग्छौं।’
एकीकृत समाजवादीले बिहीबार ३ दल (माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी)को बैठकमा पनि आफ्नो दलको तर्फबाट राष्ट्रपति बनाउनुपर्ने दाबी प्रस्तुत गरेको थियो। प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाटै राष्ट्रपति बनाउने बताइरहँदा आफ्नो पार्टीका उम्मेदवारका लागि त्यो सम्भावना रहेको एकीकृत समाजवादीको तर्क छ।
नेकपा एमालेले समेत एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।