काठमाडौं- नेकपा एकीकृत समाजवादीले वाम–समाजवादी मोर्चा बनाएर अघि बढ्न प्रस्ताव गर्दै राष्ट्रपतिमा दाबी गरेको छ। बिहीबार बसेको तीन दलीय बैठकमा एकीकृत समाजवादीले यस्तो प्रस्ताव गरेको उक्त पार्टीका नेता प्रकाश ज्वालाले बताए।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको जसपासहितको बैठकमा एकीकृत समाजवादीले उक्त प्रस्ताव गरेको हो।
बैठकपछि ज्वालाले भने, ‘हामीले चुनावअघि पनि यस विषयमा कुरा गरेका थियौं। अहिले पनि त्यसमै केन्द्रित भएर छलफल गरेका छौं। सकभर वाम समाजवादी मोर्चा बनाएर जाऔं भनेर छलफल गरेका छौं।’
माधव नेपाललाई राष्ट्रपति बनाउने विषयमा छलफल भएको उनले जानकारी दिए। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सहमतिबाट राष्ट्रपति चयन गर्ने कुरा गरिरहेको र आफ्नो पार्टी अध्यक्ष नेपालमा त्यस्तो सहमति जुट्ने वातावरण बनेकाले अन्य पार्टीसँग पनि छलफल गर्ने कुरा भएको उनको भनाइ छ।
उनले थपे, ‘सम्मानीय प्रधानमन्त्रीज्यूले राष्ट्रपतिको उम्मेदवार सर्वसम्मत रुपमा चयन गरौं भन्नुभएको छ। हाम्रो अध्यक्ष र पार्टीलाई त्यो अवसर प्राप्त हुँदा अस्वीकार गर्ने कुरा भएन। अध्यक्ष (माधव नेपाल)लाई त्यसका लागि अघि सार्ने दाबी र अनुरोध छ।’
पुरानो गठबन्धन ब्यूँताउने विषयमा भने छलफल नभएको बताए। तीन दलको छलफल निष्कर्षविहीन भएपछि उक्त विषय तत्कालका लागि स्थगित भएको छ।
यता एमालेले एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई राष्ट्रपतिका लागि प्रस्ताव गरेको छ। एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले नेपालसँग भेटेर पार्टी एकतासहित राष्ट्रपति बनाउन सहयोग गर्न सकिने बताएका हुन्। केही दिनअघि अध्यक्ष केपी शर्मा ओलीले पनि उक्त प्रस्ताव गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।