काठमाडौं– राष्ट्रपतिको निर्वाचनका विषयमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार दिउँसो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन्।
नेकपा एकीकृत समाजवादी र जनता समाजवादीसँगको छलफलपछि बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले भोलि एमाले अध्यक्ष ओलीसँग संवाद गर्ने बताएका हुन्।
जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किँदै गर्दा उनले सञ्चारकर्मीहरुसँग भने, ‘छलफल चलिरहेको छ, भोलि एमाले अध्यक्षसँग कुरा हुन्छ।’
राष्ट्रपतिकै विषयमा उनले बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुसँग छलफल गरेका थिए। उनले बुधबारको छलफलमा राष्ट्रपतिमा कांग्रेसलाई सघाउने आश्वासन दिएका छन्। साथै बिहीबार जसपासँगको छलफलमा उनले उपराष्ट्रपतिमा जसपालाई दिने विषयमा आफू सकारात्मक भएको बताएका छन्।
बिहीबार साँझ सिंहदरबारमा चुनावी गठबन्धन ब्यूँताउने विषयमा छलफल गर्न एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाबीच छलफल भएको थियो। तर बैठक बिना निष्कर्ष टुंगिएको छ। उक्त बैठक शुक्रबार पनि बस्ने बताइएको छ।
यस्तै उनले शुक्रबा कांग्रेस सभापति शेरबहादुर देउवासँग पुन: छलफल गर्ने बताइएको छ। राष्ट्रपतिको निर्वाचनलाई लिएर यतिबेला प्रचण्डले सरकारमा रहेका र बाहिर रहेका सबै दलहरुसँग राष्ट्रिय सहमतिका लागि भन्दै दैनिक छलफल गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।