काठमाडौं– नेकपा एमालेले दल विभाजन गरेर गएको नेकपा एकीकृत समाजवादीलाई पार्टी एकतासहित राष्ट्रपतिको अफर दिएको छ।
बिहीबार एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष नेपाललाई भेटेर औपचारिक रूपमा यस्तो प्रस्ताव गरेका हुन्। उनले विगतका कुरा बिर्सेर अघि बढौं, पार्टी एकताको प्रक्रिया थालौं, तपाईं राष्ट्रपति बन्नुहोस् भनेर नेपाललाई प्रस्ताव गरेको उनीनिकट एक नेताले बताए।
‘यस्तो अवस्थामा रास्वपा, राप्रपा र जसपासहितका साना दलले पनि साथ दिन्छन्। त्यसो हुँदा राष्ट्रपति निर्वाचित हुन सजिलो हुन्छ’, पोखरेलको भनाइ उदृत गर्दै तीन नेताले भने।
यसअघि केही दिन पहिले एमाले अध्यक्ष ओलीले नेपाललाई अनौपचारिक रूपमा यस्तै प्रस्ताव गरेका थिए। तर, नेपाल ओलीको प्रस्तावमा विश्वस्त हुन सकेका छैनन्।
पोखरेलसँग भेटमा पनि नेपालले यसको ‘विश्वासयोग्य आधार’ खोजेका छन्। उनले यसरी संवाद हुनु सकारात्मक रहेको भन्दै संवादलाई जारी राख्नुपर्ने बताएका थिए।
भेटमा अध्यक्ष नेपालले आफ्नो पार्टीले कम्युनिस्ट पार्टीहरूबीच एकता गर्नका लागि कार्यदल नै बनाएको स्मरण गराएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।