काठमाडौं– सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र उपराष्ट्रपति जनता समाजवादी पार्टीलाई दिन सकारात्मक देखिएको छ।
बिहीबार अपराह्न सिंहदरबारमा प्रधानमन्त्रीसमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवबीचको छलफलमा माओवादी सकारात्मक रहेको हो।
प्रचण्डसँगको भेटपछि संचारकर्मीसँग प्रतिक्रिया दिँदै जसपा अध्यक्ष यादवले उक्त कुरा दाबी गरेका छन्। राष्ट्पति, उपराष्ट्रपति र सरकार सञ्चालनका विषयमा छलफल भएको र त्यसमा उपराष्ट्रपति जसपालाई दिन माओवादी अत्यन्तै सकारात्मक देखिएको उनले बताए।
‘राष्ट्रपति–उपराष्ट्रपति र सरकार सञ्चालनका विषयमा प्रवेश भयो र छलफल प्रारम्भ भएको छ। र निरन्तर जारी छ। हामीलाई उप–राष्ट्रपति दिन माओवादी अत्यन्त सकारात्मक रहेको पाएको छु,’ यादवले भने।
मन्त्रिपरिषद्को बैठक भएकाले छलफल स्थगित भएको र उक्त बैठक पछि पुन: छलफलमा जुट्ने यादवले बताएका छन्। अब हुने छलफलमा एकीकृत समाजवादीको पनि उपस्थिति हुने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।