काठमाडौं– सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेरसमूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरु र अग्रपंक्तिमा खटिनेहरुलाई लगाउने भएको छ।
गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज)का लागि थप खोप नेपाल आएको थियो । ‘खोपका लागि ग्लोवल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत् जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य सुरु भएको पनि बताए। उनले पहिलो मात्रा खोप नलगाएको व्यक्तिहरुलाई पहिलो प्राथमिकतामा राख्ने र बुस्टर डोज लगाउन बाँकी नागरिकलाई प्राथमिकताका आधारमा खोप लगाउने व्यवस्था मिलाएको बताए।
सहायक प्रवक्ता अधिकारीले सम्बन्धित खोप केन्द्रहरुमा उपलब्ध हुनेगरी समन्वय गरिसकेको उल्लेख गर्दै खोपहरु उपलब्ध भइसकेको खोप केन्द्रबाट खोप सञ्चालन हुनेगरी काम सुरु भइसकेको बताए।
उनले नागरिकले आफ्नो परिचय खुल्ने कागजात लिएर खोपकेन्द्र गए सहजै खोप लगाउन सक्ने जानकारी दिए। खोप लगाउन बाँकी र बुस्टर डोज लगाउन बाँकी नागरिकहरुलाई खोप लगाइदिन उनले आग्रहसमेत गरेका छन्।
आजबाट काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फाइजरको बुस्टर डोज लगाउन सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।