नेपालगञ्ज- नेपालगन्जमा युवा व्यवसायी अनुराग शाहमाथि भएको आक्रमणमा पक्राउ परेकाहरुको मुद्दामा बिहीबार उच्च अदालत तुल्सीपुर नेपालगञ्ज इजलासमा सुनुवाइ हुँदैछ।
उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासका न्यायाधीशद्वय केशवराज जोशी र पुरुषोत्तमप्रसाद ढकालको संयुक्त इजलासमा सो मुद्दाको सुनुवाइ हुन लागेको हो।
नेपालगञ्ज घर भएका युवा व्यवसायी अनुराग शाहमाथि स्थानीय गुण्डाहरुले आक्रमण गरी घाइते बनाएका थिए। घाइते शाहको हाल भारतको लखनउस्थित केजिएम अस्पतालमा उपचार भइरहेको छ। घाइते शाह खतरामुक्त रहेको परिवार स्रोतले बताएको छ।
घटनालगत्तै प्रहरीले नेपालगञ्जमा प्रकाश थापा, नारायण डिसी, तुलसीराम सुनार र विनय भण्डारी पक्राउ परेका थिए। उनीहरुलाई ज्यान मार्ने उद्योगमा अनुसन्धान गरी मुद्दा अगाडि बढाइएको थियो। सो मुद्दामा बाँके जिल्ला अदालतका न्यायाधीश विदुर काफ्लेको इजलासले पटके देखिएकाले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
आक्रमण गरेपछि भारततर्फ भाग्दै गर्दा उनीहरुलाई नेपालगञ्जको डडुवा सीमाबाट पक्राउ गरिएको थियो। मुद्दालाई छल्ने उनीहरुले एक जनाले मात्रै आक्रमण गरेको भन्दै बयान दिएपछि राजनीतिक पहुँचका आधारमा मुद्दा र अदालतलाई समेत प्रभाव पार्न खोजिएको पीडित परिवारले बताएको छ।
मुलुकी फौजदारी कार्यविधि संहिताको ७३ नम्बर बमोजिम उच्च अदालतमा निवेदन दिएका थिए। ज्यान मार्ने गरी खुँडा र खुकुरी प्रहार गरी भएको आक्रमणबाट नेपालगञ्ज निवासी शुभमजंग शाह पनि घाइते भएका थिए। आक्रमणबाट गम्भीर घाइते बनेका शाहको तत्कालै नेपालगन्ज शिक्षण अस्पतालमा उपचार भएको थियो। स्थिति गम्भीर भएपछि उनलाई भारतको लखनउ लगिएको थियो।
शाहलाई थापा, डिसी, सुनार र भण्डारीको समूहले खुकुरी लगायतका हतियार प्रयोग गरी ज्यान मार्न खोजेको किटानी जाहेरी परेको थियो। जिल्ला अदालतले सबै आक्रमणकारीहरूलाई पुर्पक्षका लागि थुनामा पठाइसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।