प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड (फाइल तस्बिर) काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुरानो (तत्कालीन ५ दलीय) गठबन्धन ब्यूँतिने कुरा फाइनल भइनसकेको बताएका छन्।
सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेर बाहिरिने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन ब्यूँतिने कुरा फाइनल भइनसकेको बताएका हुन्।
पुरानै गठबन्धन ब्युँत्तीन लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भेन, ‘हैन, अहिले फाइनल छैन केही पनि।’
पछिल्ला दिनमा पुष १० अघिको तत्कालीन गठबन्धनका नेताहरु छलफलमा व्यस्त भएका छन्। उनीहरुको छलफलको केन्द्रमा आसन्न फागुन २५ गते हुने राष्ट्रपतिको निर्वाचनको विषय छ।
पुस १० गते माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) नेकपा एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएपछि तत्कालीन ५ दलीय गठबन्धन भत्किएको थियो। स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा समेत तालमेल गरेका नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी सहितका पार्टीहरुको गठबन्धन ब्यूँताउने प्रयासमा कांग्रेससहित माओवादी केन्द्र र नेकपा माओवादी केन्द्र समेतका केही नेताहरु छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।