काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न सिंहदरबार पुगेका छन्। २ नेताबीच अहिले सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा भेटवार्ता जारी रहेको जनाइएको छ।
२ नेताबीच राष्ट्रपति निर्वाचनको विषयमा छलफल जारी रहेको प्रधानमन्त्री प्रचण्डको सचिवालयका १ सदस्यले जानकारी दिए।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपालको नाम भावी राष्ट्रपतिको रुपमा चर्चामा छ। उनलाई सत्ता साझेदार दल नेकपा एमालेले समेत राष्ट्रपतिमा स्वीकार गर्नसक्ने नेताहरुले बताउँदै आएका छन्।
तर, कांग्रेसका नेताहरु भने पुरानो (तत्कालीन ५ दलीय) गठबन्धन ब्यूँताएर राष्ट्रपतिमा सहमति खोज्नुपर्ने पक्षमा छन्। बुधबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरुको भेटवार्तामा राष्ट्रपति कांग्रेसलाई दिने विषयमा ‘सकारात्मक’ छलफल भएको नेताहरुको भनाइ छ।
आफूहरुले अगाडि सारेको प्रस्तावअनुसार ‘सहमति’ जुटेमा कांग्रेसले राष्ट्रपति पाउने र एकीकृत समाजवादीका अध्यक्ष नेपालले १ वर्षका लागि (चुनावी) सरकारको नेतृत्व गर्न पाउने परिस्थिति सिर्जना हुने कांग्रेस नेताहरुले बताउँदै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।