काठमाडौं– काठमाडौं उपत्यकाको १८ स्थानीय तहको अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरे डाँडामा ‘क्यापिङ’ (फोहोर राखेपछि उक्त फोहोरलाई छोप्ने काम) को लागि माटो पाउन कठिन भएको छ।
विगत सात महिनादेखि काठमाडौं उपत्यकाको फोहोर उक्त स्थानमा विसर्जन हुँदै आएको छ। उक्त स्थानमा फोहोर राखेपछि त्यसको थप व्यवस्थापनका लागि माटो आवश्यक पर्छ। फोहोरलाई खुला छोड्न पाइँदैन। त्यसलाई हरेक दिन छोप्नुपर्छ।
यसरी छोप्नका लागि माटोको उपलब्ध गर्न कठिन भएको छ। माटो व्यवस्थापनका लागि सहरी विकास मन्त्रालयले तोकेको स्थानबाट ल्याउँदा स्थानीय वन उपभोक्ता समितिको अवरोधका लागि समस्या भएको हो।
कामपाको प्रवक्ता नवीन मानन्धरका अनुसार उक्त स्थानमा राखिएको फोहोरलाई व्यवस्थापन गर्नका लागि दैनिक ५० टन माटोको आवश्यकता पर्छ। दैनिकरुपमा नै माटो धेरै आवश्यक पर्छ हाल व्यवस्थापनका लागि माटो ल्याउने स्थान अलि टाढा छ। उक्त स्थानबाट माटो निकाल्न पनि समस्या छ सधैं यसरी नै ल्याउन मिल्ले अवस्था नभएको प्रवक्ता मानन्धरले बताए।
हरेक दिन उपत्यकाबाट एक हजार दुई सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। जसमा सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन फोहोर जान्छ। निजी क्षेत्रबाट व्यवस्थापन हुने र कामपाको गरी दैनिक कम्तीमा दुई सय गाडीले फोहोर ओसार्ने गरेका छन्।
उपत्यकाको फोहोर दैनिकरूपमा उक्त स्थानमा पुग्छ। सुरुमा गोकर्ण, सिसडोल हुँदै अहिले बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गरिँदै आएको हो। विगत सात महिनादेखि ‘सेल वान’मा मात्रै फोहोरको व्यवस्थापनको काम हुँदा लेवल मिलाउन अलि समस्या भएको भन्दै कामपाले ‘सेल टु’मा पनि फोहोर व्यवस्थापनको लागि सहज गरिदिन सहरी विकास मन्त्रालयसँग कामपाले आग्रहसमेत गरेको छ।
‘सेल वान’मा फोहोरको थुप्रो बढी भइसकेकाले ‘सेल टु’ पनि प्रयोगमा ल्याउन सके फोहोर व्यवस्थापनमा सहज हुने कामपाको भनाइ छ। अन्तिम व्यवस्थापनस्थल बञ्चरेडाँडा ‘सेल वान’मा मात्रै फोहोर व्यवस्थापन गर्नुपर्दा लिचड व्यवस्थापनमा पनि समस्या भएको प्रवक्ता मानन्धरको भनाइ छ। अहिले फोहोरबाट निष्कने तरल पदार्थ (लिचड) रहने स्थान पनि भरिएको कारण समस्या भएको कामपाको भनाइ छ।
गत साउन महिनादेखि स्रोतमा फोहोर वर्गीकरण गरी अन्तिम व्यवस्थापन गर्ने भने पनि उपत्यकाबाट सबै किसिमको फोहोर अन्तिम विसर्जन स्थानमा लानुपर्ने बाध्यताको कारण छोटो समयमा नै लिचड राख्ने स्थान भरिएको बताइएको छ।
कामपा वातावरण विभाग प्रमुख रवीनमान श्रेष्ठका अनुसार अहिले पनि केही वडाबाट फोहोर वर्गीकरण गरी ल्याइन्छ। केही वडाबाट सबै फोहोर एकै ठाउँमा राखेर व्यवस्थापन गर्नुपरेको छ। प्रमुख श्रेष्ठले भने, ‘कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान खोज्ने काम भइरहेको छ, त्यसबारे कामपाले केन्द्र सरकारसँग छलफल गरिरहेको छ। स्थान प्राप्त हुनेबित्तिकै स्रोतमा नै फोहोरको वर्गीकरण गरी प्रभावकारी रुपमा कार्यान्वयन हुन्छ।’
विसं २०६८ मा सरकारले जारी गरेको फोहोरमैला व्यवस्थापन ऐन र २०७७ सालमा काठमाडौं महानगरले जारी गरेको वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐनबमोजिम सहरी सरसफाइ र स्वच्छताका लागि दायित्व पूरा नगर्नेलाई जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ। ऐनमा फोहोरलाई स्रोतमै छुट्ट्याउने दायित्व उत्पादकको हुने व्यवस्था छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।