काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कांग्रेसलाई राष्ट्रपति दिन सकारात्मक देखिएका छन्।
बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा कांग्रेसलाई राष्ट्रपति दिने कुरामा प्रचण्ड सकारात्मक रहेको बैठकमा सहभागी एक नेताले बताए।
कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री प्रचण्डसँग पुरानै चुनावी गठबन्धन ब्यूँताउने औपचारिक प्रस्ताव राखेका थिए। उक्त सर्त अनुसार कांग्रेसलाई राष्ट्रपति दिन प्रचण्ड सकारात्मक भएको बताइएको छ।
तर, राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने कुरामा भने छलफल नभएको बताइएको छ। प्रधानमन्त्रीसँग छलफल गर्नुअघि देउवाले आफ्नै निवासमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकु्मार नेपालँसँग छलफल गरेका थिए।
उक्त छलफलमा राष्ट्रपतिका विषयमा सहमति नभए पनि पुरानो गठबन्धन ब्यूँताउने विषयमा भने माधव नेपालले पनि सकारात्मकता देखाएको बताइएको छ।
उक्त छलफलपछि सभापति देउवा उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापालगायतका नेताका साथमा प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेका थिए। बालुवाटारमा भएको छलफलमा माओवादीका तर्फबाट अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डका साथै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।