काठमाडौं– काठमाडौंमा राष्ट्रपति को हुने भन्ने विषय पेचिलो भइरहेका बेला नेपालका लागि चिनियाँ राजदूत छन् सोङको सक्रियता बढेको छ।
राजदूत सोङले बुधबार मात्रै दुई उच्च तहको भेट गरेका छन्। बुधबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न प्रधानमन्त्री निवास बालुवाटार पुगेका सोङ अपरान्ह पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए। नेपाल तीनै पात्र हुन् जो अहिले राष्ट्रपतिका लागि सम्भावित उम्मेदवारका रुपमा चर्चामा छन्।
राष्ट्रपति पदलाई लिएर काठमाडौंको मौजुदा सत्तागठबन्धनको भविष्यमाथि अनेक आशंका भइरहेका बेला चिनियाँ राजदूतको सक्रियता बढेको जानकारहरु बताउँछन्। राजदुत सोङले तत्कालीन नेकपाकालीन शीर्ष नेताहरुसँग भेट बढाएका छन्। यसअघि फागुन ५ गते उनले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेका थिए। करिब १ महिना अघि राजदूतको जिम्मवारी सम्हालेर काठमाडौं आएका सोङले ओलीसँग दोस्रोपटक भेटेका हुन्।
यो ५ दिनका बीचमा तीन जना शीर्ष नेताहरुसँग भेटेका राजदूत सोङले मुख्यत: आसन्न राष्ट्रपतिको निर्वाचनलाई लिएर चासो राखेको जानकारहरु बताउँछन्। पछिल्ला दिनमा नेपालको नाम राष्ट्रपतिमा चर्चा हुन थालेपछि राजदूतले पहिलोपटक औपचारिक भेट गरेका हुन्। नेपालसँगको भेटमा उनको सचिवालयले राजदूत र नेता नेपालबीच शिष्टाचार भेट भएको र नेपालका लागि नयाँ राजदूत भएकोले शुभकामना दिने काम भएको जनाएको छ।
‘अध्यक्ष नेपालले नयाँ राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिनुभयो भने महामहिम राजदूतले राजदूतको रुपमा नेपाल आउन पाउँदा खुशी लागेको बताउँदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताउनुभयो,’ नेपालको सचिवालयले बताएको छ। यस्तै, राजदूत र नेता नेपालबीच नेपाल–चीन सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा कुराकानी भएको सचिवालयले जनाएको छ।
त्यसअघि प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका राजदूत सोङले आसन्न राष्ट्रपतिकै विषयलाई लिएर चासो लिएको स्रोतले बताएको छ। तर, प्रचण्ड सचिवालयले भने चीनमा हुन गइरहेको वुहावो सम्मेलनको लागि निमन्त्रणा दिन राजदूत आएको दाबी गरेको छ।
तर गतहप्ता भारतीय विदेश सचिव विनयमेाहन क्वात्राको काठमाडौं भ्रमणले तरिङ्गत भएको काठमाडौंको राजनीतिमा चिनियाँ पक्ष पनि जबरजस्तरुपमा उपस्थिति जनाउन थालेको बताउँछन् कुटनीतिक मामिलाका जानकारहरु। त्यसो त नेकपाकालीन तीन शीर्ष नेताहरुको संवाद बढ्दै गरेको अवस्थामा चीनले त्यसलाई कायम राख्न चाहेको एक कूटनीतिज्ञले नेपाल लाइभलाई बताए।
तत्कालीन नेकपा विघटनको संघारमा पुग्दा तत्कालीन राजदूत होउ यान्छीले मध्यस्थताको भूमिका निर्वाह गर्ने गरेकी थिइन्। कतिपय अवस्थामा त तत्कालीन राजदूत यान्छीको मध्यस्थताले नेकपाका विवाद मथ्थर पनि भएका थिए। तर चीनको अनेक चासोकाबीच पनि नेकपा पूर्ण नरहेपछि चिनियाँ पक्ष विस्तारै पछि हट्दै गएको थियो। पछिल्ला दिनमा प्रचण्ड नेतृत्वको सरकार बनेपछि पुन: चीनले आफ्नो चासोलाई तीव्रता दिएको जानकारहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।