काठमाडौं– नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले राष्ट्रपतिका लागि आफ्नो पार्टीको पनि दाबी रहेको बताएका छन्।
बुधबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद ज्वालाले राष्ट्रपतिका लागि एकीकृत समाजवादी पार्टीको दाबी रहेको बताएका हुन्। उनले राष्ट्रपतिका लागि पार्टी अध्यक्ष माधवकुमार नेपाल योग्य भएको समेत बताए।
नेपालले संविधान निर्माणमा खेलेक भूमिका, देशको निम्ति गरेको योगदानका कारण उनको चर्चा हुनु स्वाभाविक भएको बताए।
‘हाम्रो पार्टीका अध्यक्ष वा हाम्रो पार्टीका नेता राष्ट्रपतिका निम्ति योग्य हुनुहुन्न भन्ने कुरा पनि भएन। त्यसका निम्ति योग्य नै हुनुहुन्छ। पटक–पटक प्रधानमन्त्री भएर अनुभव गरेका व्यक्तिहरु, संविधान निर्माणमा भूमिका खेलेका व्यक्तिहरु र लामो राजनीतिक इतिहास भएकाहरु, राष्ट्रका निम्ति धेरै ठूलो योगदान गरेका व्यक्तिहरु हुनुहुन्छ, त्यसैले उहाँहरुको चर्चा हुने कुरा पनि स्वाभाविक हो’, ज्वालाले भने, ‘त्यसमा हाम्रो दाबी रहने कुरा पनि स्वाभाविक हो। त्यसैले जुन हैसियत हाम्रो नेताहरुको छ, त्यो हैसियत अनुसार र अहिले जुन पछिल्लो समयमा राष्ट्रिय सहमतिका साथ राष्ट्रपतिको निर्वाचन गरौँ भन्ने विषय छलफलमा छ, त्यस हिसाबले हेर्यो भने राष्ट्रिय सहमति जुट्न सक्ने उपयुक्त दल वा उपयुक्त पात्र पनि हाम्रो पार्टीकै नेता हुन सक्छन् भन्ने हिसाबले यसमा पनि हामी ओपन नै छौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।